स्पेनको निम्ति राजदूत बनाइएकी दावाफुटी कामै नगरी कुम्ल्याउँछिन् महिनाको पाँच लाख

पत्रपत्रिकाबाट

बुधबार, ०७ असोज २०७७, १३ : ३९
स्पेनको निम्ति राजदूत बनाइएकी दावाफुटी कामै नगरी कुम्ल्याउँछिन् महिनाको पाँच लाख

फाइल फोटो

काठमाडौँ । कूटनीतिको क पनि नजानेकी व्यापारिक पृष्ठभूमिकी युवतीलाई मुलुकको प्रतिनिधि बनाउँदा सबैले त्यतिबेलै कच्चा निर्णय भनेका थिए । एक वर्ष नबित्दै उक्त निर्णय कच्चा मात्र होइन, बच्चाखेल प्रमाणित भएको छ । न राजदूतावास मुलुकको प्रतिनिधित्व गर्ने संस्था जस्तो देखिएको छ, न यसबीचमा उनले कुनै रचनात्मक काम नै गर्न सकेकी छन् । दावाफुटी शेर्पा राजदूत नियुक्त भएको एक वर्ष पुगेको छ । 

गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एकाएक गोजीबाट नाम झिकेर स्पेनको निम्ति राजदूत बनाइएकी दावाफुटी शेर्पा सगरमाथा आरोही स्वर्गीय पासाङ्ग ल्हामु शेर्पाकी छोरी र यति समूहका दिवंगत हर्ताकर्ता आङ्गछिरिङ्ग शेर्पाकी भतिजी हुन् । आङ्गछिरिङ्ग गत वर्षसम्म नेपालको पर्यटन र हवाई क्षेत्रका टाइकुन थिए । 

हुन त दूतावास स्पेनको राजधानी म्याड्रिडमा छ । त्यहाँ अहिले राजदूतसहित यताबाट गएका तीन जना र स्थानीय तीन जना कर्मचारी छन् । बजेट सरकारले वार्षिक ५ करोड रूपैयाँभन्दा बढी पठाउने गरेको छ । त्यसमध्ये राजदूत र उनका भान्छे तथा सुसारेको खर्चमै दुई करोडभन्दा बढी सकिन्छ । एक जना भान्छे तथा अर्दली (सुसारे) को मासिक तलब १४ सय युरो तोकिएको छ । दूतावासमा कार्यरत परराष्ट्रका कर्मचारीहरूको तलब भने मुश्किलले मासिक ११ सय डलर छ । सरकारले भान्छेको तलब बढाएको धेरै भएको छैन । केही राजनीतिक प्रभावशाली व्यक्ति राजदूत बनेपछि भान्छेको तलब बढाइनुलाई कर्मचारीले अर्थपूर्ण मानेका हुन् । 

राजदूत शेर्पाको तलब मासिक ३५ सय युरो तोकिएको छ । प्रचलित विनिमयदर अनुसार उक्त रकम पाँच लाख रूपैयाँ बराबर हुन्छ । राजदूत निवासको घरभाडा मासिक २८ सय युरो तिर्ने गरिएको छ । दूतावासको भाडा त्योभन्दा बढी छुट्टै छ । राजदूत नियुक्त हुँदा ३४ वर्षीया दावाफुटी अविवाहित थिइन् । तर, ओहोदाको प्रमाणपत्र बुझाउन पुग्ने बेलासम्ममा कागजी बिवाहमा बाँधिइन् । गुरूङ थरका झण्डै चार वर्ष कान्छो युवकसँग राजदूतमा नियुक्तिलगत्तै शेर्पाले काठमाडौंमा पेपर म्यारिज गरेको स्रोतको दाबी छ । 

एक वर्षदेखि शेर्पा र गुरूङ श्रीमान्–श्रीमतीको हैसियतमा राजदूत निवासमै रहेको बताइन्छ । स्पेन सरकारका अनुसार त्यहाँ रहेका नेपालीको संख्या पाँच हजारको हाराहारीमा छ । तीमध्ये अधिकांश पर्यटन र व्यापारमा संलग्न छन् । पछिल्ला केही वर्षदेखि स्पेनले नेपाललाई उपलब्ध गराउने द्विपक्षीय सहयोग शून्य छ । उसले युरोपियन युनियनमार्फत् मात्र अन्य राष्ट्रलाई सहयोग गर्ने नीति लिएको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा खोजीखोजी र छानीछानी राजदूत बनाइएकी दावाफुटी एक वर्षसम्म स्पेनमा राजदूत हुँदा दुई देशबीच आर्थिक, राजनीतिक तथा साँस्कृतिक सम्बन्ध प्रगाढ बनाउन कस्तो पहल भयो होला ? त्यहाँका नेपालीहरूको बुझाईमा नतिजा शून्य बराबर छ । शेर्पालाई न प्रशासनिक, न कूटनीतिक केहीको पनि ज्ञान नभएकाले स्पेनको परराष्ट्र मन्त्रालयसँग उनले अहिलेसम्म कुनै सम्बन्ध गाँस्न सकेकी छैनन् । त्यहाँ निजी क्षेत्रले बुद्धको ठूलो मूर्ति र पार्क स्थापना गरिरहेको छ । 

सरकारसँग कुनै सम्बन्ध बनाउन नसकी शेर्पाले उक्त मूर्ति स्थापनासँग सम्बन्धित निजी क्षेत्रलाई भने दिलोज्यान दिएको देखिन्छ । सम्भवतः आफ्नो व्यवसायसँग जोडिएकोले उनले खुलेर सहयोग र प्रशंसा गरेको एकथरीको बुझाई छ । तर, उक्त मूर्ति र पार्क स्थापनाप्रति स्पेन सरकार भने सकारात्मक नरहेको बताइन्छ । राजदूत शेर्पाले कूटनीतिक मर्यादा नाघेर निजी क्षेत्रको परियोजनामा देखाएको सक्रियताप्रति स्पेनको विदेश मन्त्रालयले पटक पटक असन्तुष्टि जनाइसकेको छ । 

स्पेन आफैँ क्रिश्चियन धर्मावलम्बी देश भएकाले पनि सरकारले बुद्ध धर्मसँग जोडिएका क्रियाकलापलाई सकारात्मक रूपमा नलिएको हुनसक्छ । त्यहाँस्थित एकजना नेपालीका अनुसार स्पेन सरकारको असन्तुष्टि रहेको उक्त पार्क निर्माणकर्ताहरूलाई उनले भने नेपाल सरकारको पूर्ण समर्थन रहेको बताउँदै आएकी छन् । राजदूत शेर्पालाई राजनीति र प्रशासनको सामान्य ज्ञान नभएको धेरै वटा घटनाले पुष्टि गरेको छ । उनले राजदूत बनेर गएपछि कतिपय कुराकानीमा स्थानीय नेपालीहरूसँग नेकपाको स्थायी समिति ठूलो कि केन्द्रीय कमिटी भनेर जिज्ञासा राखेकी थिइन् । राजदूत भएर गएपछि कार्यालयमा केही समय अघिसम्म सुब्बा ठूलो कि उपसचिव भनेर सोध्दा सबै जिल्लिएका थिए । 

भर्खर राजदूत भएको बेलामा उपसचिव ठूलो कि सहसचिव भनेर सोधेकी उनले अहिले भने ती सबै पद लेखेर कण्ठ पारेकी छन् । तर, पार्टीको सचिवालय र पोलिट्ब्युरोमध्ये कुन ठूलो भन्नेमा अझै स्पष्ट हुन सकेकी छैनन् । एक वर्षबीच उनले औपचारिक रूपमा भेटेको स्पेनिश विदेश मन्त्रालयको सबैभन्दा ठूलो कर्मचारी भनेको सहसचिवस्तरका एकजना डिभिजन प्रमुख मात्र हुन् । राजालाई भने ओहोदाको प्रमाणपत्र बुझाउँदा देखेकी थिइन् । त्यसबाहेक अरु कुनै राजनीतिक नेतृत्व, मन्त्री वा सचिवसरहका कसैसँग पनि द्विपक्षीय सहयोगको वार्ता वा भेट गरेकी छैनन् । गर्न खोजेकी छैनन् । उनीहरूले चासो दिएका पनि छैनन् ।

म्याड्रिड राजधानी भएपनि स्पेनको पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रचाँहि बार्सिलोना हो । अधिकांश देशले म्याड्रिडमा राजदूतावासभन्दा बार्सिलोनामा कन्सुलेट अफिस खोलेर भरपूर फाइदा लिएका छन् । तर, हामीले म्याड्रिडमा राजदूतावास र राजदूतावासमा दावाफुटी शेर्पालाई राजदूत बनाएर बेफ्वाँकमा करोडौं रूपैयाँ खर्च मात्र गरेका छैनौं देशकै बेइज्जत गराएको स्पेनस्थित नेपालीहरूको गुनासो छ । 

राजदूतका कागजी श्रीमान् भने यसबीच आफ्नो व्यवसाय बिस्तारमा जमेर लागेका छन् । उनी आवश्यकताअनुसार बार्सिलोना पुगेर व्यावसायिक काम फत्ते गर्छन् । राजदूतको कुर्सीमा व्यवसायीलाई राख्दा सरकारले एउटा व्यक्तिलाई जागिर दिएकोभन्दा फरक देखिएको छैन । कच्चा बैद्यको मात्रा भनेझैँ शेर्पाले एकपटक आफूलाई नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी ठान्दै स्पेनका राजालाई सम्बोधन गरेर पत्र नै लेखेकी थिइन् । 

उक्त विषयले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई तरङ्गित बनाए पनि ‘माथि’ बाट आक्षेप आउने भएकाले कुरो छरपष्ट बनाइएको थिएन । उनले एकजना स्थानीय कर्मचारीलाई नियम विपरीत भर्ना गरेको विषयलाई पनि परराष्ट्र मन्त्रालयले बाहिर ल्याएको छैन । सबै हिसाब जोडेर एउटी राजदूतलाई मासिक झण्डै २० लाख खर्च गरी देशले भने परदेशमा उल्टै बेइज्जत र अपमान भोगिरहेको गुनासो छ । (जनआस्थाबाट)

प्रतिक्रिया दिनुहोस