नेपाली अर्थोडक्स चिया अब आफ्नै ट्रेड मार्क सहित विश्व बजारमा

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, ०९ : ५६
नेपाली अर्थोडक्स चिया अब आफ्नै ट्रेड मार्क सहित विश्व बजारमा

इलाम । नेपाली अर्थोडक्स चिया आफ्नै सरकारी व्यापार चिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापार चिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी गरेको ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालयज’ नामक व्यापारिकचिह्न लागेको तयारी चिया विश्व बजारमा जाने भएको छ ।

‘चियाको राजधानी’ इलामको फिक्कलमा मंगलबार सार्वजनिक गरिएपछि अब १२ उद्योगका चिया ट्रेडमार्कसहित जाने भएका हुन् । ‘अत्यन्तै धेरै सास्ती खेपेर ला्गो कार्यान्वयनमा आयो । अब हामीले नेपालको चिया भनेर बाहिर दिन सक्छौँ’,  चिया उद्योगी उदय चापागाईंले भने, ‘हाम्रो उद्योगको त आफ्नै ब्राण्ड छ तर नेपालको चिया भनेर बेच्न पाइने भइयो ।’

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचारसंहिता पालना गरेका चिया उद्योग र सहकारीलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ ।

चिया उद्योगीको संस्था हिमालयन अर्थाडक्स टी प्रोड्युसर्स एशोसिएशन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो । समितिले तयार पारेको शत प्रतिशत मापदण्ड पूरा भएमा मात्र उद्योगले ट्रेडमार्क पाउँछन् । ‘नेपाली चियामाथि अनुसन्धानै भएन । यदि भएको भए यति ढिलो राज्यको आँखा जाने थिएन’, अर्का चिया उद्योगी कमल मैनालीले भने, ‘अब चिया गुणस्तरीय छ तर लोगो नहुँदा विश्व बजार चिनाउन सकिएको थिएन । अब केही सहज भयो ।’ पहिलो चरणमा बोर्डले १२ उद्योगलाई लोगो वितरण गरे पनि अन्य मापदण्डयुक्त उद्योगलाई दिँदै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस