रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी

बुधबार, २३ फागुन २०७४, ०८ : ४०
रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

स्पेनिस क्लब तथा साबिकको बिजेता रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ  । मंगलबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पिएसजी) लाई २ – १ ले हराउदै रियल क्वाटरफाइनलमा पुगेको हो  ।

पिएसजीलाई उसैको घरेलु मैदानमा हराउन रियलका क्रिस्टियानो रोनाल्डो र कासिमिरोले समान एक एक गोल गरे  । १० खेलाडीमा सिमित पिएसजीका लागि एडिनसन काभानीले एक गोल फर्काए । दोस्रो लेगको जितसँगै रियलले पिएसजीमाथि समग्रमा ५ – २ को जित निकाल्दै अन्तिम आठमा स्थानमा बनाएको हो  । रियलले घरेलु मैदानमा भएको पहिलो लेगमा ३ – १ को जित निकालेको थियो ।

पार्क दि प्रिन्सेस स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो  । दोस्रो हाफको ५१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए  । योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा ११७ औं गोल गर्न सफल भए  ।

खेलको ६६ औं मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भयो  । मार्को भेराट्टीले दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिदा पिएसजी १० खेलाडीमा सिमित भएको थियो  । स्टार स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको पिएसजी १० खेलाडीमा सिमित भएपछि थप दबाबमा देखिएको थियो । खुट्टाको चोटको कारण नेयमार मैदानबाहिर रहेका छन्  । तर, खेलको ७१ औं मिनेटमा पिएसजीका काभानीले गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए  ।

प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम १० मिनेट बाँकी रहदा रियलका कासिमिरो दृश्यमा आए  । कासिमिरोले ८० औं मिनेटमा गोल गर्दै रियललाई २ – १ को जित दिलाए । योसँगै रियलले लगातार आठौं सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो  ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस