बलात्कारको घटना पंचहरुले गाँउमै मिलाउन खोजेपछि पिडितले गरिन् आत्महत्या

रासस

बुधबार, ३१ भदौ २०७७, ०९ : २५
बलात्कारको घटना पंचहरुले गाँउमै मिलाउन खोजेपछि पिडितले गरिन् आत्महत्या

सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताईन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।

Yeti Diistillery Tansen Cement box

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८-१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेका थिए । 

घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ । घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ । 

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपुर्ती भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।  पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । मृतकको शव मङ्गलबार राति राजविराज ल्याइएको छ । प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए ।