काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमितको सङख्या १२ हजार नाघ्यो

रासस

सोमबार, २९ भदौ २०७७, २० : ०४
काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमितको सङख्या १२ हजार नाघ्यो

काठमाडौं । काठमाडौ उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङख्या  १२ हजार पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । 

देशभरमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । तिमध्ये १० हजार सङ्क्रमित काठमाडौ जिल्लाका रहेका छन । काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् । यस्तै ललितपुरमा एक हजार १९१ जनामा  ५४१ महिला र ६५० पुरुष तथा भक्तपुरमा एक हजार ३१ जना  सङ्क्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन ।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । आजैमात्र उपत्यकामा ५१२ जना  सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन । 

१८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजार भन्दा बढी सङ्क्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन । काठमाडौ जिल्लापछि पर्सामा सवभन्दा बढी सङ्क्रमित देखिएका छन । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा सङ्क्रमण देखिएको छ । 

यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४,  सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।