चिकित्सक गोविन्द केसीले जुम्ला पुगेर थाले १९ औं सत्याग्रह, यस्ता छन् केसीका ६ बुँदे माग

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, १५ : ३९
चिकित्सक गोविन्द केसीले जुम्ला पुगेर थाले १९ औं सत्याग्रह, यस्ता छन् केसीका ६ बुँदे माग

जुम्ला । वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्ला पुगेर सत्याग्रह थालेका छन् । ६ बुँदे माग अघि सार्दै चिकित्सक केसीले १९ औं सत्याग्रह थालेका छन्। 

विभिन्न माग राख्दै पटकपटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले  जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह बसेका छन्। केसी लकडाउन अघिदेखि नै कर्णालीका विभिन्न जिल्लामा बिरामीको सेवामा खटिँदै आएका थिए ।

चिकित्सक केसीले आफूलाई कर्णालीवासीको उपचार गर्नको लागि हिँडडुल गर्नसमेत अवरोध भएको बताउँछन् । उनले यसपल्टको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छन्।  


१) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने ।

२) प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने


३) पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने 

४) २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने ।

५) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने  ।

६) बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानविन गरी कानुन बमोजिम  कारबाही गर्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस