पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो ।
गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरी चौकीले जनाएको छ । बाह्र जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्याएको हो ।
घर माथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए । पहिरोले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिरोबाट स्थानीय रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिरोका कारण करिब १०० रोपनी धानखेतमा पहिरोले क्षति पुगेको वडाअध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।
पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २९ भदौ २०७७, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा