अनलाइन कक्षाको शुल्क कति ?

पत्रपत्रिकाबाट

सोमबार, २९ भदौ २०७७, ०७ : ५५
अनलाइन कक्षाको शुल्क कति ?

काठमाडौं । स्थानीय सरकारको अनुमतिमा निजी विद्यालयले अनलाइनलगायत भर्चुअल कक्षाको शुल्क लिन पाउने भएका छन् । अनलाइन कक्षाको शुल्क लिन रोक लगाएको शिक्षा मन्त्रालयले वैकल्पिक माध्यमबाट गरिने पठनपाठनलाई शैक्षिक सत्रको मान्यता दिँदै असोज १ देखि लागू हुने गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेपछि यो बाटो खुलेको हो ।

निर्देशिकामा ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरेबमोजिम हुने’ उल्लेख गरिएको छ । शुल्क लिन नपाउँदा निजी विद्यालय सञ्चालक असन्तुष्ट थिए । शुल्क उठाउने बाटो खुलेपछि अनलाइन कक्षाको कति शुल्क लिन पाउने भन्ने बहस सुरु भएको छ ।

नियमित कक्षा सञ्चालनको बेलामा पनि निजी विद्यालयले मापदण्डविपरीत शुल्क उठाउने गरेको गुनासो थियो । महामारीको सन्त्रासले अनलाइन कक्षा सञ्चालन गरेका बेला पनि कतिपय निजी विद्यालयले भर्ना शुल्कसहित साविकको जस्तै मासिक शुल्क लिने गरेको अभिभावकहरूको भनाइ छ । मासिक शुल्कसहित भर्नाको नाममा २ लाखसम्म शुल्क लिने निजी विद्यालय पनि छन् । प्याब्सनले कोरोना महामारीका कारण प्याकेजमा शुल्क लिने गरी छलफल चलिरहेको जनाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस