नेपालमा थप १४ जनाको मृत्यु, १ हजार २०१ जना संक्रमित थपिए, ८५२ जना निको भए

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, १६ : ३९
नेपालमा थप १४ जनाको मृत्यु, १ हजार २०१ जना संक्रमित थपिए, ८५२ जना निको भए

काठमाडौं । नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा तीन जना महिला र ११ जना पुरुष रहेका छन् । महिलाहरुमा पर्सा ७८, काठमाडौं ७६, तनहुँकी ७६ वर्षीया रहेकी छन् भने पुरुषहरुमा सुनसरी ४३, काठमाडौं ५१–५४, भक्तपुर ७२–३८, चितवन ६२, स्यांग्जा ८५, गोरखा ४५, कास्की ५१ र रुपन्देहीका ६०–४० वर्षीय पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३६ पुगेको छ । यस्तै आज थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८५२ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । जसमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् ।