रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आउँदै

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, १३ : ३४
रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ बजारमा आउँदै

काठमाडौँ । पूर्वमन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ असोजको दोस्रो साता बजारमा आउने भएको छ । प्रकाशक सांग्रिला बुक्सले यो पुस्तक बजारमा ल्याउन लागेको हो ।  

क्रान्ति र प्रतिक्रान्ति पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठीलगायत अन्य हस्तलिखित दस्तावेजहरू समावेश रहेको सांग्रिला बुक्सका मणि शर्माले जानकारी दिए । 

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले पुस्तकमा सात सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान् समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति, यसका कारण र आउन सक्ने परिणामलाई उल्लेख गरेका छन् । पुस्तकमा इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यका बारेमा विस्तारमा चर्चा गरिएको शर्मा बताउँछन् ।

पुस्तकका सन्दर्भमा लेखक भन्छन्, ‘२००७ सालको परिवर्तनलाई आख्यानको रूपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैँ संलग्न भएर सञ्चय गरेका सपना भङ्गको पीडा र दूरदृष्टि पूरा गर्ने सङ्कल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचिकर र उपयोगी हुने आसा गरेको छु ।”

लेखकको यसअघि प्रकाशित पुस्तक ‘कूटनीति र राजनीति’ चर्चित रह्यो । उक्त पुस्तकको सातौँ संस्करण पनि ‘क्रान्ति र प्रतिक्रान्ति’ सँगै बजारमा उपलब्ध हुने सांग्रिला बुक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस