कोरोनाको भयले बढिरहेछ मानसिक रोगको जोखिम

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १० : ४८
कोरोनाको भयले बढिरहेछ मानसिक रोगको जोखिम

सांकेतिक तस्विर

चितवन । कोरोना भाइरस (कोभिड १९) को फैलिँदो संक्रमणबाट विश्व नै आक्रान्त भइरहेको बेला कोरोनाको भयले मानसिक रोगको जोखिम बढिरहेको सम्वद्ध चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार कोभिड–१९ का त्रासका कारण नरम र कडा दुवै किसिमका मानसिक समस्या भएको छ । यस समयमा व्यक्तिमा साइकोसिस, एन्जाइटी, डिप्रेसन लगायत समस्या देखिरहेको छ ।

‘मनोसामाजिक समस्या सबै उमेर, वर्ग र पेशामा देखिएको छ’ मनोविद् प्रदीप सुवेदीले भने, ‘कोरोनाले सङ्क्रमित र उसका परिवारलाई मानसिक समस्या बढाएको छ । विगतमा मानसिक समस्याको औषधोपचार गरेर निको भएका, हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् ।’

‘सबै क्षेत्र ग्रस्त छ, त्यसकारण धेरैमा कुनै न कुनै मनोसामाजिक समस्या देखिएको छ’ मनोविद् सुवेदीले भने, ‘कोरोनाको कहरले परिवारमा भय ल्याएको छ, जसका कारण मानसिक समस्याहरु देखिएका छन् । कोरोना सङ्क्रमितलाई हँेला गर्दा पनि मनोसामाजिक समस्यामा गइरहेको छ ।'

सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने मनोविद् सुवेदी बताउँछन् । उनका अनुसार मानिसमा सावधानी अपनाएपछि रोग लाग्दैन र लागेपछि पनि निको हुने सम्भावना बढी छ भनी बुझाउन जरूरी छ ।

‘यो समयमा मानसिक समस्या महिला र पुरूष दुवैमा बराबर रहेको छ’ उनले भने, ‘पहिलेका मानसिक समस्याका बिरामीहरु झन् बढी समस्यामा परेका छन्, नयाँ मानिसक समस्या पनि बल्झिरहेको छ ।’

कोरोनाकै कारण आममानिसको रोजीरोटी गुमेको छ । विद्यार्थीहरु स्कुल जान पाएका छैनन् । सबै व्यापार व्यवसाय चौपट बनेको छ, जसका कारण मानसिक समस्या अझै बल्झने खतरा रहेको उनको भनाइ छ । घरमा थुनिएर बस्नुपर्दा चिन्ता र तनावले मानिसहरु मनोसामाजिक समस्याको सिकार भएका छन् ।

‘कोरोना भाइरसका कारण मानिसहरु बेरोजगार छन्, व्यवसाय चलेका छैनन्, घरभित्र बसिरहँदा छटपटी भएको छ, परिवार आफन्तलाई भेट्न पाएका छैनन्, जसका कारण कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिएको छ’ मनोचिकित्सक कमल गौतमले भने, ‘कोरोनाले सम्पूर्ण पक्षलाई नराम्रोसँग गिजोलेको छ जसको कारण डिप्रेसन, चिन्ता, चिडचिडापन, डिसअर्डरजस्ता मानसिक समस्याले मानिसहरुलाई सताइरहेको छ ।

‘धेरै कुराहरु खेल्नु, मनमा शान्ति नुहुनु, चिन्ता, डर, त्रास, आत्तिनु, निद्रा नपर्नु शरीर थाक्नु, बर्बराउनुजस्ता लक्षण बढी छ’ उनले भने, ‘मानसिक रोगको उपचार भनेकै परामर्श हो, त्यसैले मनोचिकित्सलाई भेटेर मनको समस्या हल गर्न सकिन्छ ।’

मनोसामाजिक समस्याबाट जोगिन शारीरिक व्यायाम, तनावबाट मुक्त, सन्तुलित भोजन, व्यस्त जीवनशैली, खुसी हुने माध्यम खोज्नु, अनावश्यक समाचार नहेर्ने, भय नमान्ने गर्नाले मानसिक समस्याबाट मुक्ति मिल्ने मनोचिकित्सकहरुको सुझाव छ ।

कोरोनाको भयकै कारण मानसिक रोगको जोखिम बढिरहेको छ । कतिपय बिरामीमा सामान्य रूघाखोकी पनि कोरोना भाइरस नै हो भन्ने रुपमा लिने गरेका छन् । धेरै मास्क लगाउँदा, बेसारपानी बढी खाँदा सुरक्षित हुन्छु भन्ने भ्रमले पनि मानिसलाई समस्या ल्याएको मनोचिकित्सकहरु बताउँछन् । कतिपयमा कोरोनादेखि डराउने, झस्कने, जुनसुकै कुरालाई शंकाको रुपमा हेर्ने, निद्रा नलाग्नेलगायत समस्या देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस