काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, २० : २७
काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार

काठमाडौं । केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् ।

कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन्चित बन्नुपर्ने अवस्था सृजना भईरहेको अवस्थामा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भने कोरोना संक्रमितको उपचार गर्न थालेको छ ।

बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्दै लगेका छन् ।

केही दिनअघिबाट ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितकै उपचार हुँने वातावरण मिलाएका हुन् । यसैबीच कलेजमा भर्ना भएकी २७ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाले बच्चा जन्माएकी छन् । काठमाडौंको असनकी संक्रमित ती महिलाको शुक्रबार शल्यक्रिया गरी बच्चा (छोरा) निकालिएको हो ।

कलेजका बरिष्ठ चिकित्सकहरुले संक्रमणबाट जोगिन उच्च सावधानी अपनाउँदै शल्यक्रिया गरी बच्चा निकालेका हुन् । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य छ । संक्रमित ती सुत्केरीलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।

४१ हप्ताकी गर्भवती ती महिलालाई सुत्केरी व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउने तयारी गरिएको थियो । सोही क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो ।

संक्रमण पुष्टि भएर पनि अस्पतालले शल्यक्रिया गरी बच्चा निकालेको भन्दै सुत्केरी महिला र उनको परिवार हर्षित छन् । केएमसीमा कोभिड, नन कोभिड र कोभिड आशंका गरिएका बिरामीलाई छुट्टा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाईएको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।