चन्द समूहका विरही अस्पतालबाटै पक्राउ

रासस

शनिबार, २० भदौ २०७७, १९ : ५९
चन्द समूहका विरही अस्पतालबाटै पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द  समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।

उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं ।”

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उहाँलाई प्रहरी कार्यालय पु¥याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिनुभयो ।

नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । सोही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु¥याएको थियो । नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस