अन्य स्कुलका विद्यार्थीलाई पनि समेटे्र निःशुल्क अनलाइन कक्षा

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, ०९ : २५
अन्य स्कुलका विद्यार्थीलाई पनि समेटे्र निःशुल्क अनलाइन कक्षा

चितवन । चितवनमा रहेको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।  देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले  यो  सुविधा दिने भएको हो । त्यसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ । 

स्कुलका प्रिन्सिपल फादर रोवीले  लकडाउनका कारण पढाईबाट वञ्चित भएका विद्यार्थीलाई लक्षित गरी निशुल्क अनलाईन कक्षा शुरु गर्न लागिएको बताए । ‘काठमाडौ लगायत अन्य जिल्लाका कतिपय विद्यार्थीले पढ्न नपाएको सुनेको छ, उनले भने , त्यस्ता विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा शुरु गर्न लागेका हौं ।’ चितवनमा समेत अधिकाश विद्यालयले प्राविधिक तथा अन्य कारण अनलाइन कक्षा निरन्तर दिन सकेका छैन । यसलाई मध्यनजर गरी स्कुलले निशुल्क अनलाइन कक्षा दिने निर्णय गरेको हो । 

विद्यार्थीले आफ्नो पढ्न पाउने अधिकारलाई रक्षा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिएको फादर रोवीको भनाई छ । उनका अनुसार स्कुलले प्रत्येक कक्षामा हाल २० जना सम्म दर्ता भएर अनलाइन कक्षा लिन इच्छुक त्यस्ता विद्यार्थीलाई सोही स्कुलका विद्यार्थीसँगै पढाउने र सो भन्दा बढी संख्या भएमा अलग्गै अनलाइन कक्षाको व्यवस्था गर्नेछ । ‘गरीब तथा जेहेन्दार र जसले पैसाको अभावमा अन्य विद्यालयको पढाइबाट बञ्चित हुनु परेको छ ,उनीहरुको लागि लक्षित गरिएको हो ।’ पिन्सिपल रोवीले भने ।

दर्ता प्रक्रियाको लागि स्कुलको पेजमा गएर आफ्नो नाम दर्ता गर्न उनले विद्यार्थीलाई आग्रह समेत गरेका छन् ।  दर्ता प्रक्रियापछि स्कुलले ती विद्यार्थीलाई अलग्गै अलनाइन कक्षाको युजर, पासवर्ड दिनेछ ।  स्कुलले लकडाउन शुरु भएको केही समय वित्न नपाउंँदै विद्यार्थीहरुलाई गुणस्तरीय  अनलाइन कक्षा दिदै आएको छ  र कक्षा १० सम्मका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिसकेको छ । 
हाल स्कुलले १० जोड दुईको कक्षामा भर्ना शुरुगरी यही भदौ २५ गतेबाट अनलाइन कक्षा शुरु गरिने जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस