भरतपुर आइसोलेसनमा प्राकृतिक चिकित्सा पद्धतिबाट थालियो कोरोना संक्रमितको उपचार

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १० : ०३
भरतपुर आइसोलेसनमा प्राकृतिक चिकित्सा पद्धतिबाट थालियो कोरोना संक्रमितको उपचार

चितवन । कोरोना संक्रमितलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाको अगुवाईमा हालै संचालनमा आएको आइसोलेसनमा प्राकृतिक चिकित्सा बिधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसंग सहकार्य गरेर कोरोना संक्रमण भए पनि लक्षण नदेखिएकाहरुलाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

गत आईतबारबाट सुरु गरिएको आइसोलेसनमा हाल  ४० जना कोरोना संक्रमित रहेका छन् । जसमा १९ जना महिला छन् । अभिभावक संगै २ र ८ वर्षका दुई वच्चा पनि छन् । उनीहरुमा भने संक्रमण छैन् । चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकाहरुलाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ । जसका लागि बेलुका ५ बजेबाट बिहान ९ वजे सम्मको समयमा ठोस पदार्थ खान दिइएको छैन । कोइरालाले भने “भाइरस मारेर उर्जा उत्पादन गर्ने प्रकृया सुरु गरेका छौ ।” यस बिधिलाई जाइनो फेजी भनिन्छ ।  

कोइरालाले यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिए । खाना नखाए पछि शरिरका कोषलाई उर्जा पुग्दैन् । कोईरालाले भने “कोषले उर्जा नपुगे पछि कोषभित्रको भाइरस मारेर उर्जा उत्पादन गर्न थाल्छ ।” सबै रोगको कारण मल हो भने सबैको उपचार उपवास भएको भन्दै उनले यसले अन्य रोगलाई पनि निको पार्ने बताए । प्राकृतिक चिकित्सा बिधि अन्तर्गत आइसोलेसनमा बसेकाहरुलाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ । बिहान ६ बजे देखि ७ वजे सम्म योग, त्यसपछि योगकृया जलेनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योग पछि बिहान ९ बजे खाना खुवाइन्छ ।

कोईरालाले सूर्य स्नान  गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षण पछि सङ्क्रमितको अबस्थाको बारेमा गुनासा भए चिकित्सक सहितको टोलिले परिक्षण गर्ने गर्छन् । आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिईन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन । साँझ प्र्राथना पछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन् । साँझ ७ः३० वजे देखि ८ वजे सम्म दुध र बेसार खाएर सुत्ने गरेको कोईरालाले बताए । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा बसेकाहरु निकै खुशी भएको बताईन् । उनले भनिन् “त्यहाँ रहनुभएकाहरु सबै निकै खुशी हुनुभएको छ । उहाँहरुलाई खुशी बनाएर निको बनाउन सक्दा नै हामी सन्तुष्ट हुन्छौ ।” चिकित्सालयका चिकित्सक एबं कर्मचारीहरुको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट बनेको दाहालको भनाई छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उनका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जना सम्म राख्न सकिने छ ।

कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथमीकतामा राखिएको उनले जानकारी दिइन् । पहिलो प्राथमीकता महानगरवासी भएको भन्दै उनले आपत परे बाहिरकालाई पनि राखिने जानकारी दिए । सङ्क्रमण बढ्दै गईरहेकाले महानगरबासीहरुलाई सतर्क रहन आग्रह गर्दै उनले महानगर र स्थानीय प्रशासनले जारी गरेका सूचनाको पालना गरि रोग नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन् ।

महानगरको पहिलो प्राथमिकता मानव स्वास्थ्य नै भएकाले कन्ट्याक्ट ट्रेसिङ्, नमुना संकलन र परिक्षण गरि कोरोना परिक्षण, रोकथाम र उपचारमा जुटेको दाहालको भनाई छ । जिल्लामा शुक्रबार सम्म सङ्क्रमितको संख्या ८ सय ४७ पुगेको छ । जसमध्ये ५ सय २४ जना महानगरका छन् ।

प्रतिक्रिया दिनुहोस