कोरोना संक्रमितको उपचारमा ल्यायो भरतपुर अस्पतालले यस्ता नयाँ योजना

सफल खबर संवाददाता

विहीबार, १८ भदौ २०७७, १५ : ०३
कोरोना संक्रमितको उपचारमा ल्यायो भरतपुर अस्पतालले यस्ता नयाँ योजना

चितवन । पछिल्लो समय चितवन कोरोनाको ‘हटस्पट’ बनेको छ । सक्रिय कोरोना संक्रमितको संख्या नै चितवनमा ६०० नजिक पुगेको छ । संक्रमितको संख्या ९०० हाराहारी छ । 

पछिल्लो समयको तथ्यांक केलाउने हो भने काठमाडौँ, पर्सापछि कोरोना संक्रमणमा चितवन तेस्रो स्थानमा पर्छ तर स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको हटस्पट बनेको १२ जिल्लाभित्र चितवनलाई राखेको छ । कोरोना संक्रमणबाट चितवनमा उपचारको क्रममा १८ जनाको निधन भएको छ । जसमा १० जना चितवनका हुन् । 

चितवनमा कोभिडको उपचारमा महत्वपूर्ण भूमिका खेलेको भरतपुर अस्पतालले शैया थप्ने तयारी गरेको छ । भरतपुर अस्पतालमा हाल कोभिड १९ को उपचारको लागि आइसियूसहित जम्मा ७५ वटा बेड छन् । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले आइसियूसहित १०० बेड कोभिड १९ उपचारको लागि थप्ने योजना रहेको बताए । उनले भने, ‘आगामी आइतबारबाट भरतपुर अस्पतालमा कोभिड १९ उपचारको लागि आइसियूसहित एक सय बेड थप गरी १७५ बेड सञ्चालनमा ल्याइनेछ ।’ 

उनले हाल जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको समयमा आइसियू बेड थप गर्नुपर्ने आवश्यक भएको बताए । तत्काल भरतपुर अस्पतालले कोरोनाको लागि एक सय बेड थप गरी जम्मा १७५ वटा बेड बनाउन लागेको छ । थप गरिएको बेड आइतबारबाट सञ्चालन हुनेछ । 

दुई दिनअघि भरतपुर अस्पतालमा कोरोनाको आइसियू बेडकै अभावमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो । अब आइसियू बेड १६ कायम हुने अस्पतालले जनाएको छ । यसअघि ६ वटामात्र आइसियू बेड अस्पतालमा थियो । अब १० वटा आइसियू बेड थपिने अस्पतालले जनाएको छ । 

भरतपुर अस्पतालले संक्रमित कर्मचारीलाई कुरुवा घरमा राख्ने योजना पनि बनाएको छ । कोभिड १९ संक्रमित र अन्य बिरामीलाई फरकफरक तरिकाले फरकफरक ठाउँबाट आउनेजाने वातावरण बनाइएको छ । संक्रमित सुत्केरी र नन संक्रमित सुत्केरीलाई फरकफरक ठाउँमा राखिएको छ । 

कोभिड ल्याबमा अत्यन्तै चाप बढेको हुनाले चितवन मेडिकल कलेजसँग समन्वय गरी यसको चापलाई कम गराउने अस्पतालको योजना छ । कोभिडको नतिजा मोबाइलको एसएमएसमार्फत जानकारी गराउने योजना पनि भरतपुर अस्पतालले बनाएको छ । 
प्लाज्मा थेरापीको लागि पनि रगत दिएर अन्य संक्रमितको ज्यान बचाउनसमेत भरतपुर अस्पतालले अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस