चितवनमा मल नपाएर किसानको बिजोग, थप ५ सय मेट्रिक टन युरिया ल्याइँदै

प्रकाश सिग्देल

विहीबार, १८ भदौ २०७७, १४ : २२
चितवनमा मल नपाएर किसानको बिजोग, थप ५ सय मेट्रिक टन युरिया ल्याइँदै

फाइल फोटो

चितवन । जिल्ला मल आपूर्ति ब्यवस्थापन समिति चितवनको बुधबार बसेको बैठकले जिल्लामा तत्काल युरिया मलको आपूर्ति ब्यवस्थापनका लागि थप ५ सय मेट्रिक टन मल आयात गर्ने निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जिल्लामा थप ५ सय मेट्रिक टन मल आयात गरी चालु धान सिजनका लागि मलको सहजता प्रदान गर्र्ने निर्णय गरेको हो । 

साल्ट्र ट्रेडिङले चितवन जिल्लाका लागि यस अघि पाएको कोटा अन्तर्गतको २ सय ५६ मेट्रिक टन मलले किसानको तत्कालको समस्या समाधान नहुने देखिएपछि थप मलको माग गर्ने निर्णय गरिएको हो । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, कृषि ज्ञान केन्द्र प्रमुख राजन ढकाल, साल्ट्र टेडिङ कर्पोरेसन चितवनका प्रमुख बुद्धिबिनोद दाहाल, चितवन प्रहरी प्रमुख नान्तिराज गुरुङ लगायतका अधिकारी सहभागी बैठकले चितवनमा थप मल आयातका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । 

यो निर्णयसँगै चितवनमा थप ५ सय मेट्रिक टन मल आउने र यसले चालु धान सिजनका लागि मलको अभाव धेरै हदसम्म समाधान हुने साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका प्रमुख बुद्धिबिनोद दाहालले बताए । 

चितवनमा मलको बितरण प्रक्रियालाई ब्यवस्थित बनाउन कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा मात्रै मल बिक्री गर्ने निर्णय यस अघि नै भएको छ । कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा सहकारीहरुले मल लगेर कृषकलाई बिक्री गर्दै आएका छन् । जिल्लामा चालु धान सिजनका लागि मलको मात्रा बढाएर तत्काल किसानको समस्या समाधान गर्ने बिषयमा बुधबारको बैठकमा छलफल भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । 

मल लिन घुइँचो

कोरोनाको कहरमा पिल्सेका चितवन जिल्लाका किसानलाई यतिबेला रोगको भन्दा पनि भोकको चिन्ताले गालेको छ । घन्टौँ लाइनमा बसेर दुई–चार किलो भए पनि युरिया मल लिन हानथाप गरिरहेका छन् ।  चितवनका अधिकांश कृषि सहकारीहरुमा यतिबेला मल लिने किसानको भीड छ ।

‘धानको चमार लाग्ने बेला मल आएको छ, त्यही पनि प्रशस्तै होइन । सबै किसानलाई मल चाहिएको छ, मल अभाव छ’, भरतपुर–६ का किसान पीताम्बर सापकोटाले भने, ‘पाँडेघुम्तीनजिकको कृषि सहकारीमा झन्डै पन्ध्र सय किसान मल लिन लाइनमा बसेका थियौँ । मैले त मल नै पाइन ।’

‘साल्ट ट्रेडिङले थोरै मल वितरण गरेको छ, यतिले पुग्न सक्दैन, थोरै भएपछि किसानले कोरोनाको कुनै पर्वाह नगरी लामो लाइनमा बसेका हुन्’, कृषि सामग्री कम्पनीका प्रमुख रवीन्द्र गौतमले भने, ‘कोरोनाका कहरका कारण कृषि सामग्री कम्पनीमा यसपटक मल आएन, जसका कारण यो अभाव भएको हो ।’

भरतपुर महानगर कृषि शाखाका शाखा अधिकृत विनोद लामिछानेले मलको अभावमा किसानले कोरोनाको कुनै पर्वाह नगरी मलको लाइनमा बसेको बताए । उनले भने, ‘मल छैन, धान पसाउने बेला भयो, थोरै भए पनि मल हालौँ भन्ने चिन्ता किसानमा छायो । कोरोना संक्रमणको पनि पर्वाह गरेनन् ।’

पर्याप्त मल नआएपछि

चितवनमा पर्याप्त मात्रामा मल नआएपछि चितवनका किसान ५ केजी मलका लागि घन्टौँ सहकारीको ढोका कुर्दै यो कोरोनाको जोखिमका बिचमा पनि लाईन बस्न बाध्य भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन चितवनले साउन महिनादेखि मल बाँड्न सुरु गरे पनि साल्ट ट्रेडिङका लागि राज्यले थोरै मात्रै कोटा दिँदा किसान समस्यामा परेका हुन् । 

साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका अनुसार बिहीबार बिहानसम्म १० हजार ९ सय ७० बोरा मल आएको र त्यसमध्ये १० हजार ३ सय १२ बोरा बिक्री भइसकेको छ । चितवनमा ५ हजार ६ सय ६० बोरा युरिया, नवलपरासीमा ७ सय ९२ बोरा, गोरखामा ३ हजार ६० बोरा मल बिक्री गरेको दाहालको भनाई छ । 

भरतपुर महानगरमा ३९, कालिकामा ९ , खैरहनी १३, माडीमा ७, रत्ननगरमा १६, राप्तीमा १० गरी १ सय ४ वटा सहकारीलाई मल बिक्री गरेको दाहालको भनाई छ । अभावको बेला आफूहरुले सबै किसानलाई सहजता होस् भन्ने उद्देश्यले मलको बिक्री गरिरहेको दाहालको भनाई छ । 
साल्ट ट्रेडिङले जम्मा आयातको ३० प्रतिशत मलको कोटा पाएको छ । बाँकी ७० प्रतिशत कोटा कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ । चितवन जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस