सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

रासस

बुधबार, १७ भदौ २०७७, १४ : ००
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौं खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ ।

शनिवार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो ।

खेलमा सन्दीपले एक विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिए । यससँगै सन्दीपले सीपीएलमा ७ खेलमा १० विकेट लिएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सातौं खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने ७ खेलमा तीनमा जित तथा चारमा हारका साथ ६ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

शुरूआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले ४ विकेटको क्षतिमा १८४ रन बनायो । १८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाए ।

लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोडे । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले २ तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले १/१ विकेट लिए । सन्दीपले लेन्स सिमोन्सको विकेट लिएका थिए ।

जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म संघर्ष गरे । उनले अविजित अर्धशतकीय पारी खेले । रसेलले २३ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५० रन बनाए । ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए । कार्लोस बाथवेटले अविजित २१ रन जोेडे पनि जमैकालाई जिताउन भने सकेनन् ।

बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले २ तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले १/१ विकेट लिए । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौं खेल बुधवार खेल्नेछ ।