मेडिकल सिटीको उपमा पाएको भरतपुरमा बिरामी डुलाउँदाडुलाउँदै मृत्यु

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, ११ : ०३
मेडिकल सिटीको उपमा पाएको भरतपुरमा बिरामी डुलाउँदाडुलाउँदै मृत्यु

प्रतिकात्मक फोटो

चितवन । भन्नलाई त ‘मेडिकल सिटी’ भनिन्छ भरतपुरलाई, तर व्यवहारमा भने भरतपुर ‘डेथ सिटी’ बन्न थालेको आभाष चितवनवासीले गर्न थालेका छन् । मेडिकल सिटीको उपमा पाएको भरतपुरमा बिरामी डुलाउँदाडुलाउँदै मृत्यु हुन थालेपछि चितवनवासी सशंकित बनेका हुन् ।

‘एक अस्पतालले अर्को अस्पताललाई रिफर गर्दा समन्वय नभएको जानकारी हामीकहाँ आइपुगेको छ’ सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने, ‘अस्पतालबीच समन्वय नहुँदा बिरामी र उसका आफन्तले दुःख पाएका छन्, समन्वय गरेरमात्र बिरामी रिफर गर्न भनेका छौँ ।’

उनका अनुसार समन्वय नगरी बिरामी रिफर गर्न पाइँदैन, बिरामी रिफर गर्दा जहाँ रिफर गर्न लागिएको हो, त्यसको स्वीकृत लिनुपर्छ । बिरामीले उपचार नपाउने अवस्था सिर्जना भएको खण्डमा प्रहरी प्रशासनलाई तत्काल जानकारी गराउनसमेत उनले आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले निजी अस्पतालहरुले कोरोना संक्रमितका बिरामीहरुलाई अन्तिम अवस्थामा कुनै समन्वय नगरी भरतपुर अस्पताल पठाइरहेको बताए । उनले भने, ‘जुन तीन जना कोरोना संक्रमितको मृत्यु भयो, जसमा दुई जना निजी अस्पतालबाट अन्तिम अवस्थामा भरतपुर अस्पताल रिफर भएका बिरामी हुन्, एक जना सिधै भरतपुर अस्पताल आएका हुन् ।’

उनले अन्य अस्पतालहरुले पटकपटक कुनै समन्वय नगरी भरतपुर अस्पतालमा बिरामी रिफर गरिरहेका जानकारी दिए । उनले भने, ‘आइसियू बेड, भेन्टिलेटर खाली छ कि छैन, कुनै कुरा नबुझी, जानकारी नगराई अचानक अन्तिम अवस्थामा भरतपुर अस्पताल बिरामी रिफर गरिन्छ, एक चोटीमात्र होइन, पटकपटक यस्ता घटना दोहोरिएका छन् ।’ बिरामीको ज्यान जानुमा एक अस्पतालले अर्को अस्पतालमा समन्वय नगरी बिरामी पठाउनुलाई पनि उनी कारण मान्छन् ।

अस्पतालको सीमित साधन र स्रोतबाट हदैसम्मको उपचार गदागर्दै कोरोना संक्रमितलाई बचाउन नसकिएको उनी बताउँछन् । भन्छन्, ‘निमोनियाले अन्तिम अवस्थामा पुगेका बिरामी आए, बचाउन सकिएन ।’

भरतपुर अस्पतालले विज्ञप्ति जारी गरी निजी अस्पतालहरुलाई प्रभावकारी समन्वय गरी बिरामीलाई रेफर गर्न अनुरोध गरेको छ । भरतपुर अस्पतालले २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले अस्पतालबीच समन्वयको अभावको महसुस भएको बताए । एक अस्पतालले अर्को अस्पतालसँग समन्वय गरेर बिरामी पठाउँदा बिरामी घुमेको घुमै हुने अवस्था सिर्जना हुने र अन्तिममा ज्यानै जाने अवस्था हुने बताए ।

प्रतिक्रिया दिनुहोस