निजी शैक्षिक संस्थालाई डुबाउने खेल

पत्रपत्रिकाबाट

बुधबार, १७ भदौ २०७७, ०८ : २२
निजी शैक्षिक संस्थालाई डुबाउने खेल

काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) तर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरी निजी शैक्षिक संस्थालाई डुबाउने खेल खेलेको निजी शैक्षिक संस्थाहरूले बताएका छन् । 

 निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले आयोगको निर्णयविरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै तत्काल विनासर्त निर्णय फिर्ता लिन आग्रह गरेका छन् । निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष वसन्त खनालले आयोगको निर्णयले निजी शिक्षालयको १० अर्ब लगानी डुब्ने जोखिम बढेको जनाए ।

आयोगको दुई साताअघि बसेको बैठकले स्वास्थ्य शिक्षाका प्रमाणपत्र तह र सिटिइभिटीतर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरेको थियो । यसले स्वास्थ्य शिक्षाका १८ महिने टिएसएलसी शिक्षा हासिल गरिरहेका १२ हजार परीक्षार्थीमा आतंक सृजना गरेको छ । कोरोना महामारीको विषम परिस्थितिमा आयोगको निर्णय असान्दर्भिक भएको भन्दै स्वास्थ्य शिक्षाका टिएसएलसी कार्यक्रम सञ्चालन गरिरहेका एक सय ३७ निजी कलेज र सिटिइभिटीका चार आंगिक कलेजसमेत विरोधमा उत्रिएका छन् ।

२०५१ सालदेखि निजी प्राविधिक शिक्षालयले यी विषय पठनपाठन गराउँदै आएका छन् । हाल एक सय ३७ निजी शिक्षालय १८ महिने स्वास्थ्य शिक्षाका टिएसएलसी कार्यक्रम सञ्चालन गरिरहेको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष वसन्त खनालले जनाए । उनले आयोगले विकल्पबिनै टिएसएलसी खारेजी गर्दा निजी शिक्षालयको १० अर्बको लगानी डुब्ने जोखिम बढेको जनाए ।

उनले भर्खरै एसइईको नतिजा प्रकाशन भएको र निजी शिक्षालयले भर्नाको तयारी गरिरहेकै समयमा ए्रक्कासि आयोगले बदनियतपूर्वक खारेजी गरेको आरोप लगाए । उनका अनुसार टिएसएलसीतर्फ एसइईमा कमजोर ग्रेडका बर्सेनि २२ हजार विद्यार्थी भर्ना हुने गरेका थिए । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस