सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति

रासस

मंगलबार, १६ भदौ २०७७, १९ : २८
सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ ।  

ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ । यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ । जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ । 

जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिइसक्नुभएको छ । सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । 

यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिनुभएको थियो । उहाँले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिनुभएको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उहाँले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाउनुभएको थियो । 

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । यस्तै पाँचौ खेलमा उहाँले दुई विकेट लिनुभएको थियो । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उहाँले ४ ओभरमा १६ रन दिनुभएको थियो । यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिनुभएको थियो । 

जमैकाले खेलेका हालसम्मका ६ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित राख्नुभएको छ । उहाँले सबै खेलमा किफायती बलिङ गर्दै आउनुभएको छ । विपक्षी टोलीका खेलाडीले उहाँको बलमा खासै रन बनाउन सकेका छैनन् । त्यसैले आजको खेलमा समेत सन्दीपले खेल्न पाउने सम्भावना अत्यधिक रहेको छ । यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सीपीएल खेलिसक्नुभएको छ ।  

पाउने भए क्रिकेट खेलाडीले पारिश्रमिक 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको एक वर्षको पारिश्रमिक पठाउने भएको छ ।   

आइसीसीले सन् २०१९ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टको पाउन बाँकी पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान) को खातामा पठाउन लागेको हो । क्यानको खातामा रकम आउन दुई तीन लाग्ने र उक्त रकम रकम चाँडै नै खेलाडी र भिडियो एनालिस्टलाई उपलब्ध गराइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । 

राष्ट्रिय टोलीका खेलाडीले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । यसपटक आईसीसीले खेलाडीको पारिश्रमिकमा विगतमा भन्दा मासिक रु १० हजार बढी पारिश्रमिक पाउने छन् । क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको छ । उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाउने छन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । 

आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप) मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यही अनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । 

ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी, बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलीप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन् । भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको थियो । यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ ।