चितवनमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या सय नाघ्यो

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १२ : २२
चितवनमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या सय नाघ्यो

प्रतिकात्मक फोटो

चितवन । सरकारी अस्पताल, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरुमध्ये चितवनमा सय जनाभन्दा बढीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भइसकेको छ ।

‘चितवनमा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीहरु बढिरहेका छन्, दैनिकजसो कुनै न कुनै अस्पतालका स्वास्थ्यकर्मीहरु सङ्क्रमित भइरहेका छन्’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘हालसम्म चितवनका विभिन्न अस्पतालमा कार्यरत १०९ जना स्वास्थ्यकर्मीहरु सङ्क्रमित भएका छन् ।

उनका अनुसार सङ्क्रमित हुनेहरुमा डाक्टर, नर्स, ल्याबमा कार्यरत टेक्निसियनलगायत रहेका छन् । चितवनमा सबैभन्दा बढी नर्सहरु नै कोरोना सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार सबैभन्दा बढी क्यान्सर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार क्यान्सर अस्पतालमा २९ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्, जसमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु पनि छन् ।

भरतपुर अस्पतालका कोभिड–१९ उपचारका फोकल पर्सन डा. प्रमोद पौडेलका अनुसार भरतपुर अस्पतालमा २० जना स्वास्थ्यकर्मीहरु कोरोना सङ्क्रमित भएका छन्, जसमा स्वास्थ्यकर्मीदेखि चिकित्सकसम्म छन् । भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारी नै कोरोना सङ्क्रमित रहेका छन् । 

चितवन मेडिकल कलेजमा ३२, पुरानो मेडिकल कलेजमा २१ जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसैगरी, चितवनका अन्य निजी अस्पतालहरुका केही स्वास्थ्यकर्मीहरु सङ्क्रमित छन् ।

‘रत्ननगर, भरतपुरमा रहेका अस्पतालहरुमा कार्यरत कुनै न कुनै स्वास्थ्यकर्मीहरु सङ्क्रमित छन्’, स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले भने, ‘स्वास्थ्यकर्मीहरु सङ्क्रमित हुँदै जान थाल्ने र सङ्क्रमितको संख्या बढ्दै गएको खण्डमा भोलिका दिनमा उपचारमा समस्या आउन सक्छ ।’

भरतपुर अस्पतालका कोभिड–१९ को उपचारमा खटिएका डा। पौडेलले पनि स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण बढ्दै गएको र सावधानी बढी अपनाइएको बताए । उनका अनुसार पिपिई, मास्क, फेस सिल्ड, ग्लोब्स, पञ्जाको पनि प्रयोग गरी सकेसम्म स्वास्थ्यकर्मीमा सङ्क्रमण नहोस् भन्ने हिसाबले सङ्क्रमणको उपचारको काम भइरहेको छ ।

डा. पौडेलले भने, ‘कोभिडको उपचारमा खटिने स्वास्थ्यकर्मीभन्दा अन्य उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरु सङ्क्रमित भइरहेका छन् ।’ उनका अनुसार भरतपुर अस्पतालमा कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सावधानी अपनाइरहेका छन् । खाजा खाँदा, हिँड्डुल गर्दा बढी सावधानी अपनाउन भनिएको छ ।

नर्सिङ संघका केन्द्रीय सदस्य रमेश सुब्बाले चितवनमा विभिन्न अस्पतालमा ५० भन्दा बढी नर्सहरु सङ्क्रमित भएको बताए । उनले भने, ‘फ्रन्टलाइनमा काम गर्ने भनेकै नर्स हुन्, उनीहरु नै बढी सङ्क्रमित भएका छन् ।’ सङ्क्रमित नर्सहरु अस्पतालकै आइसोलेसन र होम आइसोलेसनमा रहेका छन् । उनका अनुसार सबै सङ्क्रमित नर्सहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस