काठमाडौं । देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या आइतबारभन्दा तीन सय चार बढेको छ । आज देशभरमा ८९९ जना सङ्क्रमित थपिँदा ५८८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या केही बढेको हो ।
काठमाडौँ उपत्यकामा २९८ सहित देशभरमा ८९९ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५९६ पुरुष र ३०३ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ ।
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरका ४१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार १२९ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ९३ हजार ४७२ नमूना परीक्षण भइसकेको छ ।
देशभरमा पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ५४ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार ३३७ रहेको छ । देशभर जम्मा १७ हजार ८२२ सक्रिय सङ्क्रमितमध्ये १० हजार ७०१ संस्थागत आइसोलेशन र सात हजार १२१ होम आइसोलेशनमा छन् ।
प्रदेशअनुसार, संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार २८७, प्रदेश २ मा दुई हजार ६२, वाग्मती प्रदेशमा चार हजार ४०८, गण्डकी प्रदेशमा ५३०, प्रदेश ५ मा एक हजार १७३, कर्णाली प्रदेशमा ३९६ र सुदूरपश्चिम प्रदेशमा ८४५ छन् । होम आइसोलेशनमा प्रदेश १ मा ५१०, प्रदेश २ मा चार हजार ५५, वाग्मती प्रदेशमा दुई हजार ४२, प्रदेश ४ मा १८, प्रदेश ५ मा ३५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १२० छन् ।
देशभरमा गरी १३२ सङ्क्रमित सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा चार, प्रदेश २ मा ३८, वाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा एक, वाग्मती प्रदेशमा १३ र प्रदेश ५ मा दुई गरी १६ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशरभका ४६ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा ओखलढुङ्गा एक, खोटाङमा एक, झापा पाँच, मोरङ १९, सङ्खुवासभा नौ र सुनसरी ५३ रहेका छन् छ । प्रदेश २ मा धनुषामा ३१, पर्सा ३४, बारा २३, महोत्तरी छ,, रौतहट एक, सप्तरी २२, सर्लाही १०३ र सिराहा पाँच छन् ।
त्यस्तै, वाग्मती प्रदेशमा काठमाडौँमा १९०, ललितपुर ६७, भक्तपुर ४१, काभ्रेपलाञ्चोक १३, चितवन ७१, दोलखा दुई, धादिङ एक, मकवानपुर ४२, रामेछाप दुई, सिन्धुपाल्चोक एक र सिन्धुली तीन सङ्क्रमित पुष्टि भएको छ ।
प्रदेश ४ मा कास्की तीन, गोरखा १३, नवलपरासीपूर्व चार, लमजुङ दुई, तनहुँ २६ र वाग्लुङमा चार सङ्क्रमित फेला परेका छन् । प्रदेश ५ मा अर्घाखाँचीमा दुई, कपिलवस्तु एक, नवलपरासी तीन, पाल्पा एक, बर्दिया दुई, बाँके १४ र रुपन्देही ११ सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जुम्लामा एक र सुर्खेतमा ३८ फेला परेका छन् भने सुदूरपश्चिममा अछाम २३, कञ्चनपुरमा सात, कैलाली १६, डोटी एक, बझाङ एक र बैतडी दुई सङ्क्रमित फेला परेका छन् ।
आजसम्म देशभरका ७७ जिल्लामध्ये १२ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने दुई जिल्लामा शून्य रहेको छ । ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, चितवान, ललितपुर, काठमाडौँ र रुपन्देही रहेका छन् । त्यस्तै, हाल सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् ।
देशभरमा सङ्क्रमितको सङ्ख्या बढीरहेकाले परिवारभित्र यसबाट बच्ने विधि र व्यवस्थापनका विषयमा छलफल गर्न खाँचो रहेको डा गौतमको जोड छ । परिवारमा जो कोहीलाई सङ्क्रमण भएमा उसलाई कहाँ र कसरी अरुबाट छुट्टै राख्ने भनी पूर्वतयारी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको मात्रै स्रोत र साधनले नपुग्न सक्छ, त्यसैले पहिले नै परिवार र समुदायले योजना बनाउनुपर्छ ।”
थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । मृत्यु हुनेमा महोतरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ भदौ २०७७, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै