चितवनमा कोरोना संक्रमितको शव व्यवस्थापन : कालीबहादुर गणबाट खटिन्छ टोली, बागेश्वरीको जंगलमा गरिन्छ अन्त्येष्टि

प्रकाश सिग्देल

सोमबार, १५ भदौ २०७७, १५ : ४८
चितवनमा कोरोना संक्रमितको शव व्यवस्थापन : कालीबहादुर गणबाट खटिन्छ टोली, बागेश्वरीको जंगलमा गरिन्छ अन्त्येष्टि

– प्रकाश सिग्देल
चितवन । चितवनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले गर्दै आएको छ । 

गत जेठ २७ गते चितवनमा पहिलोपटक कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको थियो । त्यस यता चितवनमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ । 

चितवनमा मृत्यु भएकाहरुको देवघाटधाम क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जंगल क्षेत्रमा अन्त्येष्टि गरिँदै आइएको छ । जहाँ राजा महेन्द्रले बनाएको दाहासंस्कारस्थल समेत रहेको छ । 

कोरोना संक्रमण भई मरेकाहरुको शव ब्यवस्थापनका लागि तालिम प्राप्त ५ देखी ६ जना सैनिकको टोली खटिने गरेको भरतपुर ब्यारेकका गणपति बिज्ञान खनालले बताए । उपचारका क्रममा मृत्यु भइसकेपछि आफूहरुलाई खबर आउने र आफूहरु अस्पताल गएर शवलाई डिस्इन्फेक्सन गरी त्यहाँबाट उठाएर गाडीमा हालेर तोकिएको ठाउँमा लगेर परिवारको इच्छा अनुसार अन्त्येष्टि गर्ने गरेको खनालको भनाई छ । 

शवलाई जलाउने परिवारको इच्छा भएमा त्यहाँ खटिएको टिमले पहिले नै चिता बनाएर राख्ने र आफूहरु त्यहाँ गएर चितामा शव राखेर दाहसंस्कार गर्ने नत्र परिवारले गाड्ने भनेमा त्यहाँ खनेर राखिएको खाडलमा हालेर अन्त्येष्टि गर्ने गरेको खनालको भनाई छ । भरतपुर महानगरको जेसिबीले त्यहाँ खाडल खनेर तयार पार्ने र आफूहरुले त्यहीँ लगेर अन्त्येष्टि गर्ने गरेको खनालको भनाई छ ।

शव ब्यवस्थापनमा खटिएको टिमलाई खाने, बस्ने छुट्टै ब्यवस्था गरेकाले टोली काम सकेर सेनिटाईज गरेर सुरक्षित तरिकाले नुहाई धुवाई गरेर सुरक्षित बस्ने हुँदा खतराकोे सम्भावना पनि कम रहेको खनालको भनाई छ । 

हरेक दिनजसो शव ब्यवस्थापन गर्नु पर्ने भएमा एउटै टोली परिचालन हुने, १५ दिनसम्म अर्को शव ब्यवस्थापन गर्न परेन भने खटिएको टिमको पिसिआर गरी उसलाई रेस्ट दिने र अर्को टोली खटाउने गरेको खनाल बताउँछन् । शव व्यवस्थापनमा खटिएको टोलीले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरिरहेको खनालको भनाई छ । नेपाली सेनाले जुनसुकै परिस्थितिमा जस्तोसुकै बेला जस्तोसुकै ड्यूटी आए पनि गर्ने भएकाले सेनाको जुनसुकै बेला पनि मनोबल उच्च हुने खनाल बताउँछन् । 

चितवनमा रहेको बिपद ब्यवस्थापन गण रसौलीका गणपति राजेन्द्र पराजुलीले यसअघि जिल्लाका सबै सुरक्षा निकायलाई शव ब्यवस्थापन सम्बन्धी अभ्यास गराइएको बताए । शव ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य निकायका अधिकारी सहित तीन वटै सुरक्षा निकायलाई सहभागी गराएर शव ब्यवस्थापन सम्बन्धी अभ्यास गराइएको पराजुलीको भनाई छ । नागरिकलाई बिपदबाट आईपर्ने समस्याबाट बचाउन आफूहरु जुनसुकै बेला पनि परिचालन हुने गरी तयारी अवस्थामा रहेको कर्णेल पराजुलीको भनाई छ ।

देवघाटमा शव व्यवस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा संक्रमितको शव व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बागेश्वरी जंगलस्थित नारायणी नदी किनारमा राजा महेन्द्रले निर्माण गरेको दाहसंस्कार घाट आसपासको जंगल छेउमा शव व्यवस्थापन स्थल छुट्याइएको बताए । चितवनका अस्पतालमा मृत्यु भएका संक्र्रमितको शव सोही क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस