निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी कर्मचारीलाई १० हजार जरिवानासहितको पत्र

रासस

शुक्रबार, १२ भदौ २०७७, १४ : ०२
निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी कर्मचारीलाई १० हजार जरिवानासहितको पत्र

दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ ।

गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो ।

गाउँसभाले पारित गरेको नीति विपरीत काम गरेका ३० लाई जरिवाना तोकेर पालिकाले पत्र पठाएको छ । पालिकाको पत्रमा नीति उलङ्घन गरेको भन्दै १० हजार जरिवानासमेत तोकिएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा कार्यान्वयन गर्ने गरी नीति लागू गरिएको थियो । करिब १०० जना सरकारी कर्मचारीलाई पालिकाले नीति पारित गरिसकेको भन्दै छलफल गरेको थियो । त्यसमध्ये गत वर्षको रेकर्डमाथि छानबिन गर्दा करिब ७० जनाले सरकारी विद्यालयमा पठनपाठन सुरु गरिसकेको र बाँकी ३० लाई पत्र काटिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

अध्यक्ष वलीले भने, ‘हामीले सरकारी विद्यालयमा पनि निजी विद्यालयसरहको सुविधा, भौतिक संरचना र शिक्षकको पढाइ व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिएका छौँ ।’

गाउँपालिकाबाट लाभको पद धारण गर्ने जनप्रतिनिधि र सबै कर्मचारीका लागि नियम अनिवार्य छ । अन्य सरकारी कर्मचारीलेसमेत यो नियम मान्नुपर्ने कानुन पालिकाले पारित गरिसकेकाले हामीले कार्यान्वयन मात्र गरिदिएको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।