वैकल्पिक शिक्षाले पायो मान्यता

पत्रपत्रिकाबाट

शुक्रबार, १२ भदौ २०७७, ०८ : ०३
वैकल्पिक शिक्षाले पायो मान्यता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रमा वैकल्पिक शिक्षालाई मान्यता दिने बताएको छ । मन्त्रालयले यो शैक्षिकसत्रका लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

करिब ६ महिनादेखि विद्यालय तहको पठनपाठन ठप्प भएपछि सरकारले वैकल्पिक शिक्षालाई मान्यता दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले चालू शैक्षिकसत्रमा वैकल्पिक कक्षालाई मान्यता दिने निर्णय गरेको छ ।

मन्त्रालयमा हिजो बिहीबार बसेको बैठकले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सहजीकरण निर्देशिका–२०७७ को विषयमा छलफल गरेको थियो । मन्त्रिपरिषद्ले पारित गरेको सो निर्देशिकाको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको शैक्षिकसत्रलाई खेर नफाल्ने गरी तत्काल निर्णय गर्न मन्त्री पोखरेललाई निर्देशन दिएपछि उनकै पहलमा छलफल शुरु भएको थियोे । मन्त्री पोखरेलले सोमबार सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका थिए ।

त्यसअघि पाठ्यक्रम विकास केन्द्र र मन्त्रालयका अधिकारीसँग वैकल्पिक माध्यमबाट शैक्षिकसत्र शुरु गर्ने विषयमा छलफल गरेका थिए । परिषद्को बैठकले यो निर्णय गरेसँगै चालू शैक्षिकसत्रमा वैकल्पिक माध्यमबाट पठन पाठनले मान्यता पाएको छ ।

निर्देशिकामा कुनै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका रेडियो, एफएम रेडियो र मोबाइल रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहमा वर्गीकरण गरी सोहीअनुसार पठनपाठन गर्ने उल्लेख छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस