काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिनुभयो । खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।
व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।
वैकल्पिक विधि तय गरिँदै
अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिनुभयो ।
यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० भदौ २०७७, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ