यी हुन् थाइराइडका लक्षणहरु

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १६ : ३१
यी हुन् थाइराइडका लक्षणहरु

थाइराइड रोग होइन यो शरीरको अत्यावश्यक एक ग्रन्थी हो, जुन घाँटीमा हुन्छ । यसले शरीरलाई चाहिने हर्मोन उत्पादन गर्छ। यो हर्मोनले शरीरलाई स्वस्थ र स्फूर्त राख्न मद्दत गर्छ । मानव मुटु, मिर्गौला, फोक्सो, हड्डी  मांसपेसी लगायतका टाउकोदेखि खुट्टासम्मका अंगलाई यो हर्मोनको आवश्यकता पर्छ ।

लक्षणहरू
थाइराइडमा कुन प्रकारको थाइराइड हो त्यही अनुसार लक्षण देखिने हुन्छ । हर्मोन कम हुने अर्थात  हाइपो थाइराइड छ भने कब्जियत हुने, कपाल झर्ने, थकाइ लाग्ने, बढी जाडो लाग्ने, छाला फुस्रो हुने, महिलामा महिनावारी गडबडी हुनु,मोटाउँदै जाने समस्या हुन्छ । हाइपर थाइराइडमा हात काँप्ने, मुटुको धड्कन बढ्ने, बढी थकाइ लाग्ने, कपाल झर्ने, दिसा लागिरहने आदि समस्या हुन्छ। तर कसै कसैमा यी लक्षण नदेखिन पनि सक्छन् ।

थाइराइडको जाँच
थाइराइडको सम्पूर्ण जाँच नेपालमै हुन्छ। यसका लागि रगतको जाँच गरिन्छ। यसलाई ‘थाइराइड फङ्क्सन टेस्ट’ भनिन्छ ।

हर्मोन कम हुनेलाई हर्मोन सप्लिमेन्टका रूपमा दिइन्छ । यसले शरीरमा हर्मोन पूर्ति गर्छ । यो अवस्थालाई हामी रोग भन्दैनौँ । कसै कसैलाई केही समय हर्मोन बाहिरबाट खाएपछि केही समयपछि सही ‘लेबल’मा आएर खान नपर्ने हुन्छ। यसो भन्दैमा सबैलाई यस्तो हुन्छ भन्ने होइन ।

चिकित्सकको निगरानीमा मात्रै औषधि शुरु गर्ने वा छोड्ने गर्नुपर्छ । शुरुमा पत्ता लाग्दा दुई दुई महिनामा थाइराइडको जाँच गरिन्छ। पछि सही लेबलमा आएपछि ६ ६ महिनामा जाँच गरेहुन्छ । त्यो बिरामीको अवस्था हेरेर हुन्छ ।

औषधि कसरी खाने ?
थाइराइडको औषधि र खानेकुरामा पनि धेरैले नबुझेको जस्तो लाग्छ। विशेषगरी हाइपो थाइराइडको औषधि खाली पेटमा खानुपर्छ र यो औषधि खाएको एक घण्टासम्म कुनै पनि खानेकुरा खान हुँदैन । अन्य खानेकुरासँग खाँदा औषधिले राम्ररी काम गर्न नसक्ने हुनसक्छ । तर कतिपय बिरामीले केही खाएर मात्र औषधि खाने गरको पाइयो । यो गलत हो । यसो गर्नु हुँदैन । औषधि खाएको एक घण्टासम्म कफी, कागतीपानी जस्ता पेय पदार्थ खान हुँदैन ।

प्रतिक्रिया दिनुहोस