कोरोना नियन्त्रणमा सफल बन्दै केजरीवाल, सामान्य अवस्थामा दिल्ली

पत्रपत्रिकाबाट

मंगलबार, ०९ भदौ २०७७, ०८ : २७
कोरोना नियन्त्रणमा सफल बन्दै केजरीवाल, सामान्य अवस्थामा दिल्ली

काठमाडौं । पछिल्ला दिनमा भारतका महाराष्ट्र, आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटक, उत्तरप्रदेश र बिहार राज्यमा संक्रमण निकै तीव्र छ । संक्रमण नियन्त्रणका लागि विभिन्न उपाय अपनाइएका छन् । कहीँ लकडाउन गरिएको छ भने कहीँ स्थानीय तहमै कन्टेनमेन जोन बनाएर विशेष सतर्कता अपनाइएको छ ।

बढ्दो संक्रमणले आर्थिक गतिविधि शिथिल बन्ने जोखिम त्यत्तिकै छ । त्यसै पनि दुई महिना देशव्यापी लकडाउनले भारतीय अर्थतन्त्रलाई नराम्रोसँग धक्का दिएको छ । बेरोजगारी ह्वात्तै बढाएको छ भने स–साना उद्यमीहरू विस्थापित भएका छन् । यी घटनाक्रमले केन्द्र सरकारदेखि धेरैजसो राज्य सरकारहरूलाई चिन्तामा पारेको छ ।

यसरी भारतमा कुल संक्रमण भयावह हिसाबले बढिरहँदा दिल्लीको परिदृश्य भिन्न छ । मुख्यमन्त्री अरविन्द केजरीवाल भाइरसविरुद्धको लडाइँमा आत्मविश्वास हासिल गर्दै गएका छन् । हालैका दिनमा टेलिभिजन र अनलाइनमा प्रसारित अन्तर्वार्तामा केजरीवालको मुहारमा त्यो आत्मविश्वास प्रस्ट देखिन्छ । उनको त्यो आत्मविश्वास करिब २ करोड जनसंख्या रहेको दिल्लीको बढ्दो चहलपहल र आर्थिक गतिविधि सामान्य बन्दै गएबाट पनि बुझ्न सकिन्छ । 

साना पसलदेखि ठूला मलहरूसम्म सबै खुलेका छन् । उबर र ओलाजस्ता भाडाका ट्याक्सीदेखि अटोरिक्सा र ब्याट्रीवाला रिक्सा सबै निर्बाध चलिरहेका छन् । मदिरा पसलहरूमा भीड पहिलेकै जस्तो हुन थालेको छ । रेस्टुराँहरूमा विस्तारै चहलपहल बढ्ने क्रममा छ । 

टोलटोलका साना बजारहरू विस्तारै पहिलेकै जस्तो गुल्जार देखिन थालेका छन् । दिल्लीमा बस सार्वजनिक यातायातको प्रमुख साधनमा पर्छ । दिल्ली नगर निगमका बसहरू पनि पहिलेकै जस्तै आ–आफ्नो रुटमा गुड्न थालेका छन् । मेट्रो रेल सेवा दिल्लीको मास ट्रान्जिटको मुख्य साधन हो । त्यसलाई सञ्चालन गर्नका लागि मुख्यमन्त्री केजरीवालले केन्द्र सरकारसमक्ष आग्रह गरिसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस