धानबाली नष्ट गरेका छैनौँ : गृहमन्त्री सचिवालय

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १३ : ५६
धानबाली नष्ट गरेका छैनौँ : गृहमन्त्री सचिवालय

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाको सचिवालयले अछामको रामारोशनको कार्यक्रममा धानबाली नष्ट नगरेको जनाएको छ ।

बाढीपीडितलाई राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भन्ने समाचारको सचिवालयले खण्डन गरेको छ। बाढीपहिरोबाट प्रभावित भएका नागरिकलाई राहत वितरण गर्न गृहमन्त्री थापालगायतको टोली अछामको रामारोशन गएको थियो । 
प्रचार गरिएजस्तो धान खेतमा कार्यक्रम नगरिएको सचिवालयले जनाएको छ। मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो । राहत वितरणको क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन्।

कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र रामारोशन गाउँपालिकाले गरेको स्पष्ट पार्दै आएका सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा थप सचेतना अपनाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस