कोरोना संक्रमित सञ्चारकर्मीको संख्या बढ्दै

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १२ : ४४
कोरोना संक्रमित सञ्चारकर्मीको संख्या बढ्दै

काठमाडौँ । काठमाडौं उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोना भाइरस संक्रमण हुने क्रम बढेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीब्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मी पनि धमाधम संक्रमित हुन थालेका हुन् । 

नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ । 

महासंघका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । 

महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । 

साथै महामारीको यो समयमा आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मीहरुमा अपिल गरेको छ । 

‘सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गर्दछ’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।