यसरी गर्‍यो चीनले कोरोना नियन्त्रण.....

सोमबार, ०८ भदौ २०७७, ०८ : ५३
यसरी गर्‍यो चीनले कोरोना नियन्त्रण.....

काठमाडौं । सिचुआन विश्वविद्यालयको कक्षा कोठामा फर्कनु केही दिनअघि क्याम्पसको उजाड बाटाहरूमा म साइकल चलाउँदै थिएँ। त्यतिनै बेला मैले एउटा रोबोट देखें। चार पांग्रे त्यो मेसिनमा सेन्सरका रूपमा काम गर्ने उपकरण पनि जडान गरिएको थियो। रोबोटमा रहेको विद्युतीय मोटरले गुनगुनाउँदै मलाई त्यहाँ घुमायो।

गत मे २७ को कुरा हो। विश्वविद्यालयअन्र्तगतको जियाङ क्याम्पस दक्षिणपश्चिम चीनको छेन्दुको बाहिरी भागमा पर्छ। त्यहाँ म पछिल्लो पटक पुगेको पनि तीन महिना बितिसकेको थियो। छेन्दुबाट करिव सात सय माइलको दुरीमा रहेको वुहान प्रान्तबाट चीनमा कोरोना भाइरस सुरु भएको थियो। क्याम्पसमा टर्मको सुरुवातमा कम्तीमा सबै कोर्स अनलाइनमार्फत पढाइने विश्वविद्यालयले विभिन्न विभागलाई जानकारी गराएको थियो। ती दिनहरूमा चीन छाडे रोगबाट बच्न सम्भव छ जस्तो देखिन्थ्यो। त्यसैले धेरै विदेशी शिक्षकशिक्षिकाले छाडेर पनि गइसकेका थिए।

अमेरिकी दुताबास र वाणिज्य दुतावासहरूमा पनि कतिपय अति आवश्यक नभएका कर्मचारी र कूटनीतिज्ञका पत्नी र बच्चासहितलाई फिर्ता पठाइएको थियो। फेब्रुअरी महिनैभरि अमेरिकामा रहेका साथीहरू र नातेदारले मेरो चिन्ता गर्दै लेखेका मेलको उत्तर दिँदा मलाई भ्याइनभ्याइ भयो। उनीहरूलाई मेरो परिवार ठिकै छ भनेर आश्वासन दिएँ। स्थिति डरलाग्दै भए पनि हामीले छेन्दुमै बस्ने निर्णय गरिसकेको पनि उनीहरूलाई बताए।

फेब्रुअरी २० मा म क्याम्पस गएको थिएँ। त्यतिबेला कोरोना संक्रमणका कारण चीनमा भएको मृत्युको आधिकारिक संख्या २ हजार २ सय ६६ पुगेको थियो। कक्षा सुरु भएको तेस्रो साता नपुग्दै कोरोनाले महामारीको रूप लिइसकेको थियो। छैठौं सातासम्ममा त अमेरिकामा भएको मृत्युदरले चीनलाई उछिनिसकेको थियो। सोही साता विदेशीहरूका लागि चीनको सिमा बन्द गरिएको थियो। अमेरिका र चीनमा रहेका विदेशी नागरिक घर फर्कने प्रयत्नमा थिए। तीमध्ये अधिकांश विद्यार्थी थिए।

चीन महामारीलाई अनुभव गर्ने पहिलो राष्ट्र थियो। यसको प्रसारलाई नियन्त्रण गर्ने र चाँडै नै सामान्य जीवनमा प्रवेश गराउन सफल राष्ट्रहरूमा पनि यो पथ्र्यो। एघारौं सातामा ९ वर्षीया मेरा जुम्लिया छोरीहरू पुनः विद्यालय जान थाले। तेह्रौं सातामा कोरोना फैलिए यता मैले पहिलो पटक हवाइज जहाज चढें। र, चौधौं साता म पुनः क्याम्पस फर्कें। छात्राबासका अगाडि नरोक्किएसम्म मैले रोबोटलाई पच्छ्याएँ। अचानक मेसिन भित्रबाट आवाज आयो, ‘स्टप आइपुग्यो।’ सडक खाली नै थियो। किनकी प्रायजसो स्नातकहरू अझै फिर्ता भइसकेका थिएनन्।

विद्यार्थी क्याम्पस प्रवेश गरेपछाडि छोड्न पाउने छैनन् भन्ने नयाँ नीति लागु गरिएको थियो। यसका लागि एउटा विशेष अनुमति चाहिन्थ्यो। विश्वविद्यालयका प्रत्येक ढोकामा अनुहार पहिचान गर्ने स्क्यानरहरू जोडिएका थिए। त्यस दिन बिहानै जब म आइपुगें, त्यहाँका गार्डले मलाई अनुहार स्क्यान होउन्जेल मास्क हटाउन आग्रह गरे। मेरो नाम स्क्रिनमा देखियो। साथै मेरो शरिरको तापक्रम र मेरो विश्वविद्यालको आईडी नम्बर पनि देखियो। संकाय सदस्यका रुपमा म त्यहाँको गेटको दुवै दिशातर्फ जान पाउँने भएँ। तर यो सुविधा विद्यार्थीका लागि भने थिएन।

म त्यहीँ बस्दा तीन जना विद्यार्थी आइपुगे। एक विद्यार्थीले रोबोटमा थिचेर विभिन्न सुविधाको प्याकेज लिइन्। उनी छात्राबास नजिकै आइपुग्दा मेसिनले फोन गरेर सन्देश पठाएको उनले बताइन्। अर्को आधा घण्टाका लागि म रोबोटको पछि लागें। अन्तमा रोबोट क्याम्पसको टाढा एउटा कुनामा क्यानियाओे नामक डिपोको अगाडि गएर अडियो। निलो भेस्टमा काम गर्ने एक व्यक्ति बाहिर निस्के र यसमा प्याकेजहरू लोड गर्न थाले। उनले आफूहरूसँग यस्ता तीन वटा मेसिन रहेको जानकारी दिए। आफ्ना कामदारहरू हरेक साँझ घर फर्कने हुनाले विद्यार्थीसँगको कुराकानी घटाउन यो तरिका अपनाइएको उनले बताए।

म बाइकमा आफ्नो अफिसतिर लागें। बाटामा सेता पाल टाँगिएका देखें। तीनमा चिनिया स्वास्थ्य भन्दै अंग्रेजी अक्षरमा लेखिएका थिए। एउटा पालमा मास्क लगाएकी नर्स आफ्ना अगाडि एउटा सानो बक्समा दुई वटा थर्मोमिटर राखेर बसेकी थिइन्। उनले मलाई यदी कसैलाई उच्च तामक्रम देखिए यो परीक्षण गर्ने ठाउँ भएको बताइन्। आवश्यक परेमा स्वाब परीक्षणका लागि क्याम्पस क्लिनिक पनि थियो। म मेरो अफिसमा गएँ। त्यहाँ एउटा प्याकेटमा पाँच वटा सर्जिकल मास्क, एउटा रबरको पन्जा आदि सुरक्षाका सामाग्रि राखिएका थिए। तीन महिना अफिस नआउँदा पनि त्यहाँ सबै जस्ताका तस्तै देखिन्थ्यो।

विश्वको अन्य कुनै पनि ठाउँमा भन्दा चीनको लकडाउन निकै कडा थियो। चिनिया कम्युनिष्ट पार्टिको तल्लो तहको संरचनाले समेत यसलाई पालना गराउँन लगाएको थियो। प्रत्येक घरका एक व्यक्तिलाई साताको दुई वा तीन दिन मात्र अतिआवश्यक सामान किन्न जान अनुमुति दिएको थियो। कुनै परिवारलाई संक्रमण भएको पत्ता लागेमा उनीहरूको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नभएसम्म घर सिल गरिन्थ्यो।

मैले ९० को दसकमा पढाएकी एक विद्यार्थीले आफ्नो समूदायमा रहेको घरको एउटा ढोका दुई वटा आधिकारिक छापसहित सिल गरिएको तस्बिर मलाई पठाएकी थिइन्। आफूले जीवनकालमा यस्तो दृश्य नदेखेको पनि उनले मलाई लेखेकी थिइन्। मेरै आफ्नै घरमा पनि छोरीहरूमा साह्रै नराम्रो असर परिसकेको थियो। उनीहरू अरु केटाकेटीसँग खेल्न नपाएर दिक्क भइसकेका थिए। तर यो पनि सत्य हो कि चीनको कडा लकडाउन र सीमा नाका बन्द र कन्ट्याक्ट ट्रेसिङकै कारण संक्रमण विभिन्न समूदायमा फैलनबाट रोकिएको थियो।

गत फेब्रुअरी २० मा म क्याम्पस गएको थिएँ। त्यतिबेला छेन्दुका अधिकारीले लक्षणसहितको विरामीमार्फत समूदायमा संक्रमण हुनबाट रोकिएको अन्तिम दिन भएको बताएका थिए। एक करोड ६० लाख जनसंख्या भएको शहरमा फेब्रुअरीको अन्त्यदेखि नै जम्मा ७१ वटा मात्र लक्षणसहितका बिरामी देखिएका थिए। ती सबै बिरामी आयातित थिए। अन्तर्राष्ट्रिय उडानबाट आएका चिनिया नागरिक पनि एयरपोर्टबाट सिधै क्वारेन्टाइन र उपचारमा जान्थे।

कोरोना नियन्त्रणमा छेन्दुको यो सफलता चीनमै उदाहरणिय थियो। मैले आफ्नो नीजि खोजमा विद्यार्थीलाई कोही संक्रमित भएका छन् कि भनेर बुझ्न खोजेको थिएँ। तर कोही रहेनछन्। मैले लकडाउन सकिएपछि आफ्ना विद्यार्थीलाई महमारीका असरमा काम गरिरहेका व्यक्ति वा संस्थाबारे लेख्न लगाएको थिएँ। जसमध्ये एक विद्यार्थीले चुरोट कम्पनीको कोरोनापछिको रणनीतिबारे लेखेका थिए। कुनै पनि तरिकाबाट आफ्ना ग्राहकलाई चुरोट किन्दा मास्क र सेनिटाइजर दिने कम्पनीले तय गरेको उनको लेखमा उल्लेख थियो।

मैले समाजका यस्ता विभिन्न पाटामा नियाल्ने प्रयत्न गरें। एउटा विद्यार्थीले त्यहाँको बारमा जाँदा बियरलाई मन तातो बनाएर राखेको पाइन्। किन भन्दा चिनिया मान्यता अनुरुप चिसोले महिलालाई खराब गर्छ भन्ने बुझिन्छ। अर्का विद्यार्थी सिसफोसले एक औषधि व्यवसायीबारे लेखेका थिए। ती व्यवसायीले कसरी आफ्नो दायित्वबोध गर्दै मास्कको भाउ बढाएनन् भन्ने व्याख्या गरिएको थियो।

छेन्दुको एक सरकारी बैंकका ऋण म्यानेजरले महामारीमा प्रभावितहरूका लागि बैंकले दिएको सुविधाबारे जानकारी र सेवा दिने विषयमा लेखेका थिए। क्याथीले एक रक्सी व्यापारीबारे लेखेका थिए, जसले कोरोनापछि व्यवसाय परिवर्तन गर्दै दुध बेच्न थालेका थिए। उनको मेहेनतले मे महिनासम्म दुधमा राम्रो व्यापार भइसकेको थियो। यसरी व्यक्तिगत तबरको प्रयासले पनि धेरै सफलता मिलेको थियो। अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस