किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान

एजेन्सी

विहीबार, ०४ भदौ २०७७, २१ : १९
किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान

काठमाडौं ।  उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गर्नुभएको छ ।

 पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गर्नुभएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ ।

मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न र संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण ‘रूग्ण’ बनेको अर्थव्यवस्थाको सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउन अधिवेशन बोलाइएको उल्लेख गरिएको छ । 

प्योंङयाङ स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्नुका साथै उत्तर कोरियाली जनताको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको छ । 

बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ । 

उत्तर कोरियामा किमको नेतृत्वमा प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूको द्रुत विकास भएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, यूरोपेली संघ (ईयू) र अन्य शक्तिहरूले प्योङयाङमाथि प्रतिबन्ध लगाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस