कोरोना परीक्षणको नाममा रिपोर्ट बेचेको आरोप

भरतपुर पोलिक्लिनिकलाई कारबाही गर्न माग

सफल खबर संवाददाता

बुधबार, ०३ भदौ २०७७, १५ : ०५
भरतपुर पोलिक्लिनिकलाई कारबाही गर्न माग

चितवन । भरतपुरको चौबीसकोठीमा रहेको भरतपुर पोलिक्लिनिकले कोरोना परीक्षणका नाममा मानव स्वास्थ्यमा चरम खेलबाड गरेपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक कारबाही प्रक्रिया सुरु गरेको छ । 

कोरोना परीक्षणको अनुमति नै नपाएको यो पोलिक्लिनिकले तराईका जिल्लाबाट भरतपुरमा आएका ब्यक्तिहरुलाई कोरोना परीक्षणको नाममा २ हजार शुल्क लिएर आरडिटी अर्थात र्यापिड टेष्ट गरी धमाधम  रिपोर्ट  दिएर यसले मानव स्वास्थ्यमा चरम लापरबाही गरेको थियो । 

र्यापिड टेस्टबाट आउने नतिजा सही नहुने भन्दै सरकारले समेत यो परीक्षण गर्न नपाउने भनेर सूचना जारी गरिसकेको छ । भरतपुर पोलिक्लिनिकले मनलाग्दी गरिरहँदा पनि सरोकारवाला निकाय मौन रहेको भन्दै हामीले समाचार प्रकाशित गरेका थियौँ । सफल खबरमा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यक छानबिन सुरु गरेको हो ।  

भरतपुर पोलिक्लिनिकले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै यसलाई संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् । ‘यो कोरोना परीक्षण नभई दुई हजार शुल्क लिएर रिपोर्ट बिक्री गरेर समुदायमा कोरोना फैलाउने सर्टिफिकेट दिएजस्तो हो’ एक स्वास्थ्यकर्मीले  नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यसलाई गल्ती गर्ने छुट कहिलेसम्म दिइरहने ?’

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले आफूलाई यो बिषयमा जानकारी भएको र आफूले महानगरमा पनि जानकारी गराएको बताउँदै थप अनुसन्धान गरी आवश्यक कारबाही हुने हामीलाई यसअघि बताएका थिए । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसरी जनस्वास्थ्यमा खेलबाड गर्ने स्वास्थ्य संस्थालाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्नु पर्ने बताए । अहिले र्यापिड टेस्ट गर्न नमिल्ने, पिसिआर गर्नु पर्ने, त्यो पनि अनुमति नलिई कुनै स्वास्थ्य संस्थाले मनपरीरुपमा चेक नै गर्न नपाउने डा. गौतम बताउँछन् । 

भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले यो बिषयमा जानकारीसहितको विवरण स्वास्थ्य कार्यालयबाट आएको तर कसले कारबाही गर्ने भन्ने बिषयमा अन्योलता भएकाले कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको बताए । 

महानगरमा दर्ता भएको भए महानगरले कारबाही गर्न मिल्थ्र्यो तर अहिलेसम्म स्वास्थ्य कार्यालयले नै दर्ता र नवीकरण गरेकाले स्वास्थ्य कार्यालय वा जिल्ला प्रशासन कार्यालय यी दुईमध्ये एकले कारबाही गर्नु पर्ने उनको भनाई छ । यो काम गलत भएको र कोरोनाको ब्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय बढी जिम्मेवार हुने हुँदा प्रशासनले नै कारबाही गर्दा राम्रो हुने उनले बताए । 

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सबै निकायले आफूहरुलाई देखाएर जिम्मेवारीबाट पन्छिन खोजेपनि आफूहरुले भने जस्तोसुकै परिस्थिति आएपनि जिम्मेवारीबाट पर नहट्ने बताए । त्यो पोलिक्लिनिकलाई आफूहरुले पत्र लेखेर पठाएको र पत्रको जवाफ आएपछि आवश्यक कारबाही प्रक्रिया थाल्ने उनले जानकारी गराए । 

यसअघि भरतपुर पोलिक्लिनिकका मेडिकल ल्याब टेक्निसियन आकास खनालले स्टाफ सत्कार ढकाललेले गल्ती गरेको भन्दै दोष जति स्टाफको नाममा थुपारेर गैरजिम्मेवारपूर्ण जवाफ दिएका थिए । अस्पतालले शुल्क लिएर  आधिकारिक लेटरप्याडमा दिएको रिपोर्टका बिषयमा एउटा स्टाफको नाममा दोष थुपारेर पानीमाथिको ओभानो बन्न खोजेको यो पोलिक्लिनिकका संचालकलाई कडाभन्दा कडा कारबाही गर्नु पर्ने सर्वसाधारणको माग छ । 

भरतपुर पोलिक्लिनिकका मेडिकल ल्याब टेक्निसियन आकास खनालले स्टाफ सत्कार ढकालले गल्ती गरेको भन्दै उनलाई निलम्बन गरेको बताएका थिए । कोभिड परीक्षणको रिपोर्टमा हस्ताक्षर गर्ने सत्कार ढकाल आफै पनि भरतपुर पोलिक्लिनिकको संचालक रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस