डेमोक्र्याट पार्टीबाट अमेरिकी राष्ट्रपतिका लागि बाइडेन अनुमोदित

एजेन्सी

बुधबार, ०३ भदौ २०७७, १३ : ४०
डेमोक्र्याट पार्टीबाट अमेरिकी राष्ट्रपतिका लागि बाइडेन अनुमोदित

विलमिङटन, डिलावेयर । अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । 

डेमोक्र्याटिक पार्टीले कोरोनाभाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । 

मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन् । 

बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याट र रिपब्लीकन दुबै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् । पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिनु भएको छ । हाल ९५ वर्ष पुग्नु भएका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा पर्नु भएको छ । 

कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका नीतिहरुको कटु आलोचना गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ । 

पूर्व विदेश मन्त्री केरीले भन्नुभयो, “डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मूख रहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।”

पूर्व राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ, र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न सकेको छैन भन्नुभयो । 

भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्यूयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ । 

रिपब्लीकन पार्टीका तर्फबाट विदेश मन्त्री रहिसक्नु भएका कोलिन पावेलले बाइडेनलाई समर्थन गर्नुभयो । उहाँ एरिजोनका पूर्व सिनेटर स्व. जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखा पर्नु भएको थियो । 

आधा दर्जनभन्दा बढी रिपब्लीकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गर्नु भएको थियो । (रासस–एपी)

प्रतिक्रिया दिनुहोस