काठमाडौं । नेकपा स्थायी समिति सदस्य भीम रावल सत्तारुढ दल नेकपाभित्र सरकारको आलोचकका रुपमा प्रतिपक्षकै नेता जस्ता छन् । आफ्नै पार्टीको सरकार र सरकारको नेतृत्वको आलोचनामा उनी सधै प्रमुख प्रतिपक्ष भन्दा पनि अगाडी देखिन्छन् । कतिपय काँग्रेस नेताहरु नै हामीले निर्वाह गर्नुपर्ने धर्म सत्तारुढ दलमा रहेर भीम रावलले नै निर्वाह गरिरहेको समेत टिप्पणी उनको प्रस्तुतीलाई लिएर गर्ने गरेका छन् ।
तिनै रावल अहिले सत्तारुढ दलका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डले पार्टीभित्रको विवाद सल्टाउन गठन गरेको ६ सदस्यीय कार्यदलको सदस्य छन् । महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलमा उनी सदस्य छन् । कार्यदलको बैठक हिजो बिहान साढे ८ बजेदेखि नै पौडेलको भैंसेपाटी निवास छेउमै रहेको एक ब्यापारीको घरमा बसिरहेको थियो । तर रावल ११ बजेसम्म पनि बैठकमा सहभागी थिएनन् ।
वरिष्ठ नेता माधव नेपाल समुहका नेता रावल बैठकमा किन उपस्थित भएनन् ? केहीबेर उनलाई सोधीखोजी गरियो । कतै माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले कार्यदल पार्टी कमिटिको बैठकबाट अनुमोदन गराउनु पर्ने आवाज उठाईरहेकोले नेपालहरुको माग अनुसार नै पार्टीले अनुमोदन नगर्दा सम्म कतै बैठकमा नआउने पो हुन् की ? कार्यदलका अन्य ५ नेताहरुका बीचमा छलफल चल्यो । उनको मोबाइल पनि स्वीच अफ थियो ।
तर जब उनी हस्याङफस्याङ गर्दै साढे ११ बजे मात्र भैंसेपाटी स्थित कार्यदलको बैठक स्थल पुगे, त्यसपछि मात्र थाहा लाग्यो, उनी प्रधानमन्त्री ओलीसँग भेटका लागि बालुवाटार पुगेका रहेछन् । आफ्नै पार्टीको सरकारको कमजोरीमा निक्कै खरो आलोचक बनेका उनलाई प्रधानमन्त्री ओली स्यवंले समय दिएर भेट्न बोलाएपछि रावल बालुवाटार पुगेका रहेछन् । उनले हिजो आइतबार बिहान प्रधानमन्त्री ओलीसँग ९ देखि साढे १० बजेसम्म करिव डेढ घण्टा छलफल गरेर कार्यदल बैठकमा पुगेका थिए ।
ओली स्यवंले कार्यदल बैठक चलिरहेका बेला रावललाई बालुवाटार किन बोलाए ? कार्यदलको बैठकमा पुगेका उनले समसामायिक विषयमा छलफलका लागि प्रधानमन्त्रीले आफुलाई बालुवाटार बोलाएको समान्य जानकारी दिने बाहेक थप कुराकानी खुलाएनन् । पार्टी स्थायी समिति बैठक शुरु भएकै दिन गत असार १० मा उनले पार्टी बैठकको एजेण्डा बनाउने बेला पनि सरकार र पार्टीका सम्बन्धवारे थप चर्चा गरिरहदा ओलीले रावललाई यस विषयमा आफुले छुट्टै छलफल गर्ने बताएका थिए । त्यसका लागि आफुले समय नै दिएर बोलाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।
त्यसपछि दुई साता अगाडी मात्रै प्रधानमन्त्रीले रावललाई भेटघाटका लागि बालुवाटार बोलाएका थिए । त्यसबेला भने झण्डै दुई घण्टा ओली र रावलका बीचमा भेटवार्ता भएको थियो । त्यसपछि उनको वान टु वान छलफल हिजो आइतबार भएको हो । दई साता अगाडीको छलफलमा प्रधानमन्त्री ओलीले ०३६ सालको विद्यार्थी आन्दोलन देखिको घटनाक्रममा रावलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै पार्टीभित्रको विवाद चर्काउने भन्दा सल्टाउने गरी जानु पर्ने भन्दै छलफल गरेका थिए ।
लामो पृष्ठभूमि बाँधेर रावलको पार्टीभित्रको योगदानको चर्चा गरेका ओलीले त्यसबेला आफ्ना चिकित्सकहरु स्वास्थ्य फलोअपका लागि बालुवाटार आईसकेको र अर्काे दिन फेरि बोलाएर छलफल गर्ने भन्दै त्यसबेला बिदाई गरेका थिए । रावलले प्रधानमन्त्रीको मात्र कुरा सुनेर फर्केका थिए, त्यसबेला । अर्काे दिन फेरि अब तपाईको कुरा सुन्न म बालुवाटार बोलाउछु भन्दै प्रधानमन्त्रीले उनलाई बिदाई गरेका थिए । अहिले कार्यदल बनेपछि कार्यदलमा हुने छलफलमा रावलको प्रस्तुती मत्थर बनाउन प्रधानमन्त्रीले उनलाई यही बेला बोलाएर छलफल गरेको हुन सक्ने बताईएको छ ।
रावल र प्रधानमन्त्री बीच हिजोको भेटमा के कुरा भए ? दुवै पक्षवाट खास नबताइएपनि कार्यदलमा रावलको प्रस्तुती मथ्थर बनाउन उनलाई प्रधानमन्त्रीले भेट्न बालुवाटार बोलाईएको हुन सक्ने अड्कलबाजी लगाउन थालिएको छ । कार्यदलमा स्थायी समिति बैठकमा पेश भएका एजेण्डाहरुमा सहमतिको प्रस्ताव के बनाउने ? पार्टीका १५२ नेताहरुले माग गरेको केन्द्रीय समिति बैठक के गर्ने र महाधिवशेन सम्मको कार्यतालिका सहितका ठोस कार्यक्रम के बनाउने भन्नेमा केन्द्रीत रहेर छलफल गर्दैछ ।
यही कार्यदलले स्थायी समितिको एजेण्डामा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारे पनि पार्टीको ठोस निर्णय लिनुपर्ने अवस्था छ । कार्यदललाई यस विषयमा पनि के गर्दा उपयुक्त हुन्छ प्रस्ताव ल्याउन भनिएको छ । रावल एमसिसिको चर्काे आलोचकका रुपमा देखिएका छन् ।
त्यही कारण पनि प्रधानमन्त्रीले रावललाई कार्यदल बैठक चलिरहेकै बेला एक्लै बोलाएर छलफल गरेको हुन सक्ने अनुमान नेकपा नेताहरुले गरेका छन् । जे होस प्रधानमन्त्री आफैले रावललाई बोलाएर आइतबार गरेको ढेड घण्टा लामो छलफल अर्थपूर्ण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ भदौ २०७७, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल