प्रधानमन्त्री ओली र मोदीबीच ११ मिनेटको यस्तो छलफल

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १४ : ३८
प्रधानमन्त्री ओली र मोदीबीच ११ मिनेटको यस्तो छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज ११ मिनेट छलफल भएको छ । दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। 

भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ११ मिनेट छलफल गरेका हुन् । छलफलमा दुबै प्रधानमन्त्रीले कारोना भाइरस नियन्त्रणमा सँगसँगै अघि बढ्ने विषयमा प्रतिबद्धता जनाएका थिए । आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदानसमेत दुबै प्रधानमन्त्रीले गरेका थिए ।  

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका। मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्यकाबारे मोदीले प्रधानमन्त्री ओलीलाई चासो दिएर सोधेका प्रधानमन्त्री सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए । मोदी र ओलीबीचको संवादले सीमा समस्या पनि आपसी समन्वयमा हल गर्नुपर्ने संकेत गरेको थियो । सम्वादलाई निरन्तरता दिने विषयमा समेत उनीहरूबीच समझदारी भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए। 

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत मिचिएको आफ्नो भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्शा जारी गरेपछिको पहिलो मोदी र ओलीबीचको फोनवार्तालाई नेपाली राजनीतिमा सकारात्मक रुपमा लिइएको छ । 


 

प्रतिक्रिया दिनुहोस