इन्स्टाग्रामको कमजोरी पत्ता लगाउँदा यी नेपालीले पाए ६ हजार डलर पुरस्कार

पत्रपत्रिकाबाट

शनिबार, ३१ साउन २०७७, ०६ : ५१
इन्स्टाग्रामको कमजोरी पत्ता लगाउँदा यी नेपालीले पाए ६ हजार डलर पुरस्कार

काठमाडौं । प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ ।

साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत पुरस्कार रकम दिएको हो । पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो तथ्यांक डाउनलोड गर्ने टुल प्रयोग गरी आफ्नो विवरण हेर्दा आफूले धेरै अघि डिलिट गरेको फोटो र सन्देश पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएका थिए । 

प्रयोगकर्ताले फोटो र सन्देश डिलिट गरेको केही दिनसम्म कम्पनीहरूको सर्भरमै रहनुलाई सामान्य मानिन्छ । इन्स्टाग्रामले पनि प्रयोगकर्ताले डिलिट गरेको फोटो र सन्देश आफ्नो सर्भरबाट डिलिट हुन ९० दिन लाग्ने जनाएको छ । तर आफूले एक वर्षअघि डिलिट गरेको तथ्यांक पनि इन्स्टाग्रामको सर्भरमै रहेको थाहा पाएपछि गत अक्टोबरमा पोखरेलले कम्पनीलाई जानकारी गराएका थिए ।

ट्वीटर, इन्स्टाग्राम र फेसबुकले आफ्ना प्रयोगकर्तालाई उनीहरूको के–के तथ्यांक कम्पनीको सर्भरमा छ भन्ने जानकारी दिन डाटा डाउनलोड टुलको पहुँच दिएको छ ।

अमृत साइन्स क्याम्पसमा फिजिक्समा बीएस्सी अध्ययनरत पोखरेलले कम्पनीले आफूलाई सुरक्षा कमजोरी पत्ता लगाएबापत ६ हजार अमेरिकी डलर दिएको बताए । ‘मैले गत अक्टोबरमा सुरक्षा कमजोरी पत्ता लगाएर खबर गरेको थिएँ,’ पोखरेलले भने, ‘फेब्रुअरी ७ तारिखमा पुरस्कारबापतको पैसा पाएँ ।’

टेकक्रन्चले शुक्रबार यो समाचार प्रकाशन गरेपछि प्रविधिसम्बन्धी अन्य अन्तर्राष्ट्रिय मिडियाहरूले पनि पोखरेलले पत्ता लगाएको सुरक्षा कमजोरीबारे समाचार लेखेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस