ओली–प्रचण्डबीच ४ घण्टा लामो छलफल, भोलि पनि छलफल हुने

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १५ : ५४
ओली–प्रचण्डबीच ४ घण्टा लामो छलफल, भोलि पनि छलफल हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहीबार चार घण्टा लामो छलफल भएको छ । सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो संवाद सकारात्मक भएको बताइएको छ । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ । 

महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु पनि परिवर्तनलगायतका समग्र विषयमा छलफल भएको बताइएको छ ।

बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेका थिए । उनीहरु कहिले छुट्टै त कहिले दुई नेताबीचको कुराकानीमा पनि सहभागी भएको प्रधानमन्त्री ओलीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए । 

ओली र प्रचण्डबीच भोलि शुक्रबार पुनः बैठक बस्ने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस