गोंगबु हत्या प्रकरणः अवैध सम्बन्ध र लेनदेन प्रमुख कारण

पत्रपत्रिकाबाट

बुधबार, २८ साउन २०७७, ०७ : ०८
गोंगबु हत्या प्रकरणः अवैध सम्बन्ध र लेनदेन प्रमुख कारण

काठमाडौं । आइतबार गोंगबु गणेशथाननजिकै भएको बीभत्स हत्याको कारण अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको पाइएको छ । हत्यापछि फालिएको अवस्थामा शव भेटेलगत्तै तीव्र रूपमा अनुसन्धान अघि बढाएको प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि अवैध सम्बन्ध र आर्थिक लेनदेन नै हत्याको कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

आइतबार विहान ७ बजे गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव फेला परेको थियो । टाउकोबिनाको शव भेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायताबाट सुटकेस भेटिएको स्थानबाट करिब तीन सय मिटर पर टाउको र खुट्टासहितको अर्को झोला भेटेको थियो ।

सोमबार प्रहरीले मृतक कृष्णबहादुर बोहोराको तस्बिर सार्वजनिक गरेपछि उनका आफन्त प्रहरीसामु पुगेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने हत्यामा संलग्न आरोपी कल्पना मुडभरी पौडेललाई प्रहरीले सोमबार साँझ नै चितवन टाँडीबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । घटनास्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरूको उपस्थिति हुन सक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पौडेलसँगै उनका छोराछोरीसँग लिइएको बयानअनुसार घटनामा उनको मात्रै संलग्नता रहेको देखिएको छ । तर हत्यापछि शव फ्याँक्न भने उनले १५ वर्षकी छोरीलाई समेत साथमा लगेको अनुसन्धानमा खुलेको छ । शव व्यवस्थापनमा सघाएको पाइएपछि छोरीसमेत पक्राउ परेकी छिन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । छोरा भने कम उमेरको भएको र घटनाबारे कुनै जानकारी नभएकाले पक्राउ गरिएको छैन । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस