गोंगबु हत्याकाण्ड : दहीमा निद्राको औषधि मिसाइ खान दिएपछि ह्याम्मरले अण्डकोषमा प्रहार, घाँटी थिचेर हत्या

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १२ : २७
गोंगबु हत्याकाण्ड : दहीमा निद्राको औषधि मिसाइ खान दिएपछि ह्याम्मरले अण्डकोषमा प्रहार, घाँटी थिचेर हत्या

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी पौडेल र मृतक कृष्णबहादुर बोहराबीच करिब ४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको खुलेको छ । 

प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाइ खान दिएको र सो खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ । त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको थियो । 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कल्पनाले त्यसपछि शवको टाउको छिनाइ झोलामा राखी आफै फालेको खुल्न आएको जानकारी दियो । 

मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । प्रहरीका अनुसार शनिबार साँझ अभियुक्तको कोठामा पुगेका मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का समेत खान दिएकी थिइन् भने मृतक अभियुक्तको कोठामा पटक पटक जाने गरेको पाइएको छ । 

शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको संलग्नता रहेको खुलेपछि उनलाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेको काठमाडौं ल्याएर सार्वजनिक गरेको हो । 

घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कँस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ । महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना  मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् । 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस