सामाजिक दुरी र सेनीटाइजरबीच मास्क लगाएर मनाइयो पाटनमा कृष्ण जन्माष्टमी

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, ११ : ०९
सामाजिक दुरी र सेनीटाइजरबीच मास्क लगाएर मनाइयो पाटनमा कृष्ण जन्माष्टमी

काठमाडौँ । आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन । पाटनमा सामाजिक दुरी र सेनीटाइजरबीच मास्क लगाएर कृष्ण जन्माष्टमी उल्लासपूर्वक मनाइएको छ ।

आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा  वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ ।

भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै आएका उनको पूजा– आराधना गर्दै आएका छन् ।

आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्त्व रहेको शास्त्रमा वर्णित छ ।

कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस