गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

पत्रपत्रिकाबाट

मंगलबार, २७ साउन २०७७, ०७ : ०२
गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र हत्यापछि शव फालेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस