काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरे राजधानीमा कोरोना नियन्त्रण गर्न नसकिने निष्कर्ष

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, १५ : २५
काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरे राजधानीमा कोरोना नियन्त्रण गर्न नसकिने निष्कर्ष

फाइल फोटो

काठमाडौँ । उपत्यका नगरपालिका फोरमले  काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरे राजधानीमा कोरोना नियन्त्रण गर्न नसकिने निष्कर्ष निकालेको छ ।

फोरमका अध्यक्ष एवम्  काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका हुन् ।

शाक्यका अनुसार उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम नै देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने  छ । उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाका सिल गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना बस्ती छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन् । घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ । त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’ 

उनले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गरे । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए ।

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृत्तिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए । उनले भने, ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन । हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं । नाकामा कडाइ गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ । तर यहाँ लुकिछिपी आउने प्रवृति रहयो ।’ 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुुलुस र नाराजिका कारण जोखिम बढेको बताए । उनले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे । 

उनले भने, ‘कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरु बन्द गरेका छौं । धर्मशालाहरु बन्द गरेका छौं । विहारहरु बन्द गरेका छौं । मन्दिरहरुमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं । त्यो सँगसँगै विभिन्न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ । यहाँको नाराजुलुस गर्ने पनि रोक्नुपर्छ । यहाँ काठमाडौंमा अनसन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ ।’ 
उनले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।  पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकात्मक कदम चाल्नुपर्ने बताए ।  पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनको लागि काम गर्नुपर्ने उनको भनाइ छ । 

नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई कारबाही गर्नुपर्ने उनले बताए । शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको पनि बताए । 

प्रतिक्रिया दिनुहोस