लगानी बोर्डमा सुशील भट्टको नियुक्तिविरुद्ध अदालतमा रिट

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १६ : ५०
लगानी बोर्डमा सुशील भट्टको नियुक्तिविरुद्ध अदालतमा रिट

काठमाडौं ।  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । अधिवक्ता जयबहादुर भुजेलले आइतबार भट्टको नियुक्तिविरुद्ध पाटन उच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनमा मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयको सो नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । 

रिटमा निष्पक्ष अनुभवी, दक्ष, स्वच्छ छवि भएका योग्य व्यक्तिलाई छनोट एवं सिफारिस गरी नियुक्ति गर्नु भनी सरकार र सिफारिस समितिको नाममा परमादेशलगायतका उपयुक्त आदेश पनि माग गरिएको छ । यो रिटको अन्तिम टुंगो नलागेसम्म भट्टलाई लगानी बोर्डको सीईओ नियुक्ति गर्ने मन्त्रिपरिषद बैठकको साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ ।

उक्त निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्, लगानी बोर्ड, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस समिति र सुशील भट्टलाई प्रतिवादी बनाइएको छ ।  रिट निवेदनमा भुजेलले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा भट्टको नियुक्ति पहिलो चरणमै गैरकानूनी रहेको देखिएको भन्दै उक्त नियुक्तिउपर उत्प्रेषणको परमादेश माग गरिएको छ । 

उक्त रिटमा बोर्डमा भट्टको नियुक्ति योग्यता र नियत दुवै आधारमा गैरकानूनी रहेको दाबी गरिएको छ । उक्त रिटमा उनको लगानी बोर्डको कार्यकारी हुन सार्वजिक निजी तथा साझेदारी लगानी ऐनले निर्दिष्ट गरेको योग्यता नपुगेको तथा निष्पक्ष, अनुभवी, लक्ष्य र स्वच्छ छवि नभएको देखिएको जनाइएको छ ।  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट सार्वजनिक पदमा रहेर व्यक्तिगत स्वार्थको लागि काम गरको विषय पनि सो निवेदनमा उठाइएको छ । 

प्रतिक्रिया दिनुहोस