चितवनका मल तस्कर भरतपुर महानगरको नाम बेच्दै जफत मल छुटाउन धाए महेशपुर भन्सार कार्यालय

कागजपत्र नल्याएसम्म मल फिर्ता गर्न नमिल्ने भन्दै फर्काइदिए भन्सार प्रमुखले, कागजपत्र जुटाउने तयारीमा मल तस्कर

प्रकाश सिग्देल

आइतबार, २५ साउन २०७७, १४ : ०२
चितवनका मल तस्कर भरतपुर महानगरको नाम बेच्दै जफत मल छुटाउन धाए महेशपुर भन्सार कार्यालय

चितवन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले रामग्राम नगरपालिका ५ बाईपासचोकबाट शनिबार १ सय ४९ बोरा युरिया मलसहित दुई वटा बोलेरो पिकअप गाडी चालकसहित नियन्त्रणमा लिएर महेशपुर भन्सार कार्यालयलाई बुझायो । अहिले ती गाडी र मल छुटाउन मल तस्करले सक्रियता बढाएका छन् । दुवै चालकलाई धरौटीमा छुटाइएको छ ।

महेशपुर भन्सार कार्यालय प्रमुख हेमचन्द्र शर्माले मलसहित गाडी र चालक नियन्त्रणमा लिएपछि एक जना मानिस ‘मेरो आफन्त माननीय हुन् । यो मल भरतपुर  महानगरले खरिद गरेको हो । चितवन लगेर किसानलाई निःशुल्क बाँड्ने हो’ भन्दै आफूकहाँ मल छुटाउन  सिफारिस गर्न आएको बताए ।  ‘किसानलाई बाँड्ने मल भए महानगरको सिफारिस पत्र लिएर आउनु, मल र गाडी छाडिदिन्छु’ भनेर उनलाई पठाएको भन्सार प्रमुख शर्माको भनाइ छ । उनले ‘महानगरबाट मेयरको पत्र ल्याउँछु’ भनेर गएको शर्माले बताए । 

आवश्यक कागजपत्र ल्याउन नसके मल र गाडी लिलामी प्रक्रियामा जाने, कागजात पूरा गरे छाडिदिने भन्सार प्रमुख शर्मा बताउँछन् । अहिले कोरोनाको जोखिम भएका कारणले चालकलाई भने आवश्यक अनुसन्धानपछि सम्पर्कमै रहने गरी धरौटीमा छाडिएको उनले बताए ।

चालकहरुसँग थिएन कागजपत्र    

जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्तापश्चिमका सूचना अधिकारी डिएसपी राजु लामाले भन्सार छली ल्याइएको युरिया मल गाडीमा राखेर महेशपुरबाट परासीतर्फ आउँदै गरेको ना ४ च ८३८८ नम्बरको पिकअपबाट ७८ बोरा र ना ५ च २९२६ नम्बरको पिकअपबाट ७१ बोरा युरिया मल बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । दुबै पिकअपका चालकसँग सोधपुछ गर्दा मलसँग सम्बन्धित कुनैपनि कागजात आफूहरुसँग नरहेको बताएपछि पिकअप र मलसहित उनीहरुलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको डिएसपी लामाले बताए ।

बरामद गरिएको १ सय ४९ बोरा युरिया मल १ लाख ४ हजार ३ सय मूल्य बराबरको रहेको छ । दुबै पिकअप भ्यानको मूल्य २० लाख गरी कुल २१ लाख ४ हजार ३ सय मूल्य बराबरको लिलामीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ का नारायण भुर्तेलले अवैधरुपमा चितवन ल्याउँदै गरेको मल प्रहरीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ । 

वडाले नै दिएको छैन सिफारिस

हामीले यसअघि मेघौलीका नारायण भुर्तेल र नन्दु चौधरीसहितको टिमले भारतबाट अवैधरुपमा रासायनिक मल तस्करी गर्ने गरेको समाचार सार्वजनिक गरेका थियौँ । उनीहरुले हामीलाई समाचार नहाल्न अनेक प्रलोभन देखाएका थिए । वडा कार्यालयमार्फत आफूहरुले अनुमति लिएर मल ल्याएको समेत उनीहरुले बताएका थिए । 

भरतपुर महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष गोविन्द तामाङले नारायण भुर्तेलसहितको टिमलाई धानको बिउ राख्ने बेला दुई पटकबाहेक आफूले मल ल्याउन कुनै  सिफारिस नदिएको बताए । मल ल्याउने गाडी समातिएको भनेर आफूलाई पनि एक जनाले खबर गरेको तर तिनीहरुले कहाँबाट कसरी कसको सिफारिसमा मल ल्याउनका लागि गए भन्ने जानकारी आफूलाई नभएको उनी बताउँछन् । 

यो टिम विगत दुई महिनादेखि मल कारोबारमा संलग्न रहेको स्रोतको दाबी छ । भुर्तेल स्वयम्ले पनि यसअघि हामीसँग आफूले तीन पटक वडाको सिफारिसमा मल ल्याएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस