लामो दूरीका सवारी सञ्चालन अन्योलमा

पत्रपत्रिकाबाट

आइतबार, २५ साउन २०७७, ०७ : २३
लामो दूरीका सवारी सञ्चालन अन्योलमा

काठमाडौँ । भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ देखि नै लामो दूरीका यातायात चल्ने विषयमा पनि प्रश्न रहेको छ । चल्ने भएको खण्डमा आफूहरू लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन तयार रहेको भए पनि सुरक्षा मापदण्डबारे कुनै जानकारी नै नभएको महासङ्घका महासचिव सरोज सिटौलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी चलाउने तयारीमा छौँ तर सुरक्षा कस्तो हुने ? अन्योल छ, हामीलाई केही भनिएको छैन । ” कति यात्रु चढाउने, बीचमा चढाउन वा ओराल्न पाइने कि नपाइने भन्ने विषय अन्योलमा नै रहेको छ । छोटो दूरीको मापदण्ड लामो दूरीलाई काम नलाग्ने उहाँको भनाइ छ । उहाँले मास्क तथा सेनिटाइजर प्रयोगको कुरा समान्य भएको भन्दै यात्रुको व्यवस्थापनबारे ठोस निर्णय हुनुपर्ने बताउनुभयो । सबै सिटमा यात्रु राख्न पाइने वा नपाइने कुरा पनि लामो दूरीलाई नभनिएको सिटौलाको भनाइ छ ।

उता कोरोना सङ्क्रमण फैलने क्रम जारी रहेको र केही जिल्ला सिलबन्दी गरिएको अवस्थामा लामो दूरीका सवारी सञ्चालन हुन्छन् वा हुन्नन् भन्ने नै भन्न नसकिने अवस्था छ तर व्यवसायी चलाउन तयार रहेको र सरकारले के गर्छ भन्नेमा नै रहेको पनि सिटौलाले बताउनुभयो ।

यातायात व्यवस्था विभागले भने भदौ १ देखि चलाउने निर्णय भइसकेको तर त्यसपछि अर्को निर्णय नभएकाले सोही निर्णय नै कार्यान्वयन हुने जनाएको छ । सरकारको निर्णय र घोषणा गरेका सुरक्षाका मापदण्ड नै लामो दूरीका सवारीले पनि लागू गर्नुपर्ने विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस