पौने अर्ब खर्च, सधैं पहिरो झर्छ

पत्रपत्रिकाबाट

आइतबार, २५ साउन २०७७, ०७ : ११
पौने अर्ब खर्च, सधैं पहिरो झर्छ

फाइल तस्विर

तानसेन । पत्रे चट्टान रहेको सिद्धबाबा क्षेत्रको सडकमा पहिरो गइरहन्छ। त्यसको रोकथाम गर्न संघीय सरकारको बजेटमा कार्यक्रम पर्न थालेको पनि तीन वर्ष भयो।

सिद्धार्थ राजमार्गमा पर्ने यो खण्ड मर्मत गर्न हरेक वर्ष ५ करोडदेखि ८ करोडसम्म बजेट खर्च भएको छ। १० वर्ष अवधिमा करिब पौने अर्ब बजेट सकियो तर सडक फेरिएको छैन।

हिउँद र वर्षा दुवै याममा यात्रुले भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको तानसेन–३ का राजेन्द्रगोपाल सिंहले बताए। तिनाउँ गाउँपालिका–३ सिद्धबाबा क्षेत्र प्रमुख समस्याग्रस्त रहे पनि हाल आएर झुम्साको पानी मिल, कालीमाटी र तानसेनको गौडेपुल क्षेत्र सबैभन्दा जोखिमका क्षेत्र बन्दै गएका छन्।

यो राजमार्गमा पाँच वर्ष अवधिमा डिभिजन सडक कार्यालयबाट २० करोड रुपैयाँ खर्च भएको देखिन्छ। ८० प्रतिशत रकम सिद्धबाबा क्षेत्रको सडक सुधारमा खर्च भए पनि सडकको अवस्था दिनहुँ जटिल बन्दै गएको छ।

कार्यालयका सूचना अधिकारी शिव खत्रीले यो वर्ष राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्डमा ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए। उनका अनुसार यो रकमबाट भासिएको सडक मर्मत गरिनेछ। स्तरोन्नति गरिनेछ। दोहोरो सवारी साधन चलाउन मिल्ने बनाइनेछ।

पाल्पा, गुल्मी, स्याङ्जाको तराईसँग जोडिने प्रमुख सडक सिद्धार्थ राजमार्गको यो खण्ड सधैं जोखिममा छ। ३९ किलोमिटर सडक पार गर्न सार्वजनिक सवारी साधनमा दुई घण्टा लाग्छ। सडकका अधिकांश भाग भत्किएका छन्। सडक दायाँबायाँ अतिक्रमणमा परेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस