वैदेशिक रोजगारीमा श्रमिक, निरन्तर ज्यादती

पत्रपत्रिकाबाट

शनिबार, २४ साउन २०७७, ०७ : ११
वैदेशिक रोजगारीमा श्रमिक, निरन्तर ज्यादती

फाइल फोटो

काठमाडौँ  । कोरोना भाइरस सुरु भएपछि केही दिनअघि सरकारले उद्धार गरी काठमाडौं ल्याएका पाँच गर्भवती महिला अब कहाँ जाने भन्ने दोधारमा छन्। ती महिला यतिखेर राजधानीकै एक सेल्टरमा छन्।

उद्धार गरिएका अन्य आफ्नो घरतर्फ लागे पनि उनीहरूलाई गर्भमा रहेका शिशु नै यतिखेर घर जान रोक्ने बाधक भइरहेका छन्। घर जाऔं, पेटको गर्भको कसको हो भनेर उत्तर दिनुपर्ने, नजाऔं कहिलेसम्म सेल्टरमा बस्ने।

तीन साताअघि कुबेतबाट उद्धार गरिएकी सर्लाहीकी मञ्जु (नाम परिवर्तन) ले साहुले बलात्कार गर्दा गर्भ रहन पुगेको बताइन्। उनले गर्भवती अवस्थामा घर जानसक्ने अवस्था नभएको दुःखेसो पोखिन्। उनीहरूले घर जान नसक्नुमा परिवार र समाजले लगाउने लाञ्छनालाई समस्याको रूपमा लिएका छन्।  

कुबेतमा रोजगारदाताको अनिच्छित गर्भ बोकेर घर फर्कंदा पाँच महिनाको पारिश्रमिकसमेत नपाएको उनको भनाइ छ। ‘एकातिर शारीरिक र अर्कोतिर आर्थिक शोषणमा पर्दा पनि सरकारी निकायले सहयोग गरेका छैनन्,’ उनले भनिन्।

विदेशबाट फर्किएका महिलालाई सेल्टर दिएकी आम्कास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठले लकडाउनका बेला उद्धार गरिएका महिलामध्ये अधिकांश आर्थिक र शारीरिक रूपमा शोषित भएको बताइन्।

‘लकडाउनको अवधिमा सेल्टर लिएका एक सय ४७ महिलामध्ये १९ जना विदेशबाटै गर्भवती भएर फर्किएका छन्,’ उनले भनिन्, ‘त्यस्तै अधिकांशले काम गरेको चारपाँच महिनाको पारिश्रमिक पाएका छैनन्।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस