भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, पछिल्लो २० दिनमा १० लाख नयाँ संक्रमित थपिए

एजेन्सी

शुक्रबार, २३ साउन २०७७, १० : ०८
भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, पछिल्लो २० दिनमा १० लाख नयाँ संक्रमित थपिए

फाइल तस्विर

नयाँदिल्ली । कोरोना संक्रमणको कहर विश्वभरि फैलिरहदा भारतमा भने संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६२ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।

भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको भारतिय संचारमाध्यमले जनाएका छन् । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् । भने मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ ।कोरोनाबाट विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ४८ लाख ७६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब  एक लाख ६० हजार नाघेको छ भने निको हुनेको संख्या करिब १६ लाख रहेको छ ।

शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९८ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १२ हजार भन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १४ लाख निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस